भैरहवा, १४ पुस । रुपन्देहीको मायादेवी गाउँपालिकामा बालबालिकाहरुको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु भएको छ । यो सेवाको शुभारम्भ संगै गाउँपालिकाका सबै बालबालिकाहरुको पहिला स्वास्थ्य परिक्षण गरिने र त्यसपछि खोप लगाईने छ । सेवाको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।
बालबालिकाहरुको स्वास्थ्य परीक्षणसहित खोप सेवाको शुभारम्भ गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले मायादेबी गाउँपालिकाले उदाहरणिय काम गरेको भन्दै यस्ता कार्यक्रम रुपन्देहीका अन्य स्थानीय तहले पनि संचालन गर्नुपर्ने बताउनु भयो ।
बच्चालाई खोप लगाउनु अघि स्वास्थ्य परीक्षण गर्ने विषय महत्वपूर्ण हो भन्दै सदस्य पाण्डेले स्वास्थ्य क्षेत्रको विकासको लागि र गाउँपालिकाको अभियानलाई सफल वनाउन प्रदेश सरकारमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य अष्टभुजा पाठकले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय तहले आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै प्रत्येक वडामा अनिवार्य रुपमा स्वास्थ्य चौकी हुनुपर्ने बताउनु भयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक तथा खोप समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले खोपले रोगबाट बचाउने र अझ खोप लाग्नु भन्दा पहिले नै गरिने स्वास्थ्य परीक्षण झनै महत्वपूर्ण रहेको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मायादेवी गाउँपालिकाले शुरु गरेको राम्रो कामको अन्य पालिकाहरुले पनि अनुशरण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्तकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीलगायतले बोल्दै खोप लगाउनु भन्दा पहिला गरिने स्वास्थ्य परीक्षणले बच्चालाई खोप लगाउन उपयुक्त छ÷छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिने र यसले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
यो सेवा शुभारम्भ हुनुभन्दा अगाडी गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनुपूर्व बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य गर्न तालिम प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक भास्कर आत्रेयले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक आत्रेयका अनुसार गाउँपालिकामा १७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने र यो अभियानले खोपका कारण बालबालिका विरामी हुने वा मृत्यु हुने घटनामा कमी आउनुका साथै गुनासो आउन पनि कम हुने छ ।
नेपाल सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत २ वर्ष मुनिका बालबालिकालाई विभिन्न ११ प्रकारका रोगविरुद्धको खोप लगाउने गरिन्छ ।
मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बच्चा जन्मेपछि उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणसहित खोप सेवाको शुरुवात गरिएको बताउनु भयो । उहांले यो अभियानलाई प्रभावकारी वनाउन खोप केन्द्रहरुको नियमित अनुगमन गरिने बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद गौतम, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, मायादेवी गाउँपालिकाका पूर्व स्वास्थ्य संयोजक गणेश भण्डारी लगायतले यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा नौलो कार्यको थालनी भएको बताउनुभयो ।