पोखरा, ११ पुस । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनीतिक रुपमा पहल नभए अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ ।
विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो – ‘हाम्रो पार्टी र सरकारले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता र भारतीय सुरक्षाकर्मी फिर्ताका लागि पहल गरेको छ । अहिलेसम्म कुनै पनि सरकारले नगरेको काम भारत सरकारलाई नोट पठाउने काम गरेको छ । अब कुटनितिक पहलबाट समस्या हल नभएर हाम्रो पार्टीले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छ ।’
ज्ञापन पत्रको बारेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश इन्चार्ज चन्द्रहरि सुवेदीले व्याख्या गर्नुभएको थियो भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटले ज्ञापन पत्र पढेर मुख्यमन्त्रीलाई बुझाउनुभएको थियो ।
ज्ञापन पत्रमा भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका भूमि कुटनीतिक पहल गरेर फिर्ता गर्नुपर्ने र त्यसो नगरे कडासंघर्षमा उत्रिने चेतावनी दिइएको छ । त्यसैगरी नेपाली भूमिमा रहेको भारतीय सुरक्षाकर्मी पनि तत्काल फिर्ता गराउन माग गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ४ ले मुख्यमन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
