नवलपरासी, ११ पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेपालको संविधानमा नेपाली नक्शा नराखेको भन्दै टिप्पणी गर्नुभएको छ । आफ्नो देशको मुल कानुन संविधानमा नेपालकै नक्शा नहुनु अर्थात नेपालको नक्सा बनाएर संविधानमा राख्न नसक्नुले नेपालको राष्ट्रियता खतरामा परेको नेता गजुरेलले बताउनु भयो ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा कावासोतीमा शुक्रबार भएको राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता समेत रहेका गजुरेलले राष्ट्रियताको रक्षाका लागि लाखौं देशभक्त नेपालीहरु आन्दोलिन हुनुपर्ने बेला आएको बताउनुभयो ।
केपी ओली नेतृत्वको सरकारको राष्ट्रियता कालापानीमा गएर लम्पसार परेको भन्दै नेकपा क्रान्तिकारी माओवादी स्थायी कमिटि सदस्य समेत रहेका गजुरेलले सिमा रक्षाका लागि आफूहरुको आन्दोलनमा सरकारलाई पनि सँगसँगै लैजान चाहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा, नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, समाजवादी पार्टीका केन्द्रिय सदस्य रुद्र गुरुङ, राष्ट्रिय जनमोर्चा नेपालका राष्ट्रिय परिषद सदस्य चन्द्र सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरका जिल्ला संगठन सचिव शत्रुघन थापा, क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डे, नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव विष्णु गौडेल, प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
शुक्रबार नै नवलपुरका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा राजतीतिक प्रशिक्षण समेत भएको थियो । प्रशिक्षणमा अध्यक्ष गजुरेलले प्रशिक्षण दिनुभएको थियो ।
