भैरहवा, ८ पुस । स्थापना दिवसको अवसर पारेर भैरहवा गाउँमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रगतकै अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले १३ औं स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको संस्थाका अध्यक्ष बसन्तकुमार लाल कर्णले बताउनुभयो । संंस्थाले बिभिन्न दिवसहरुको अवसर पारी समाजिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरेको अध्यक्ष कर्णले बताउनुभयो । बिरामीहरुलाई फलफुल बितरण, रक्तदान लगायत अन्य कार्यक्रमहरुमा संस्थाको सहभागिता हुने गरेको छ ।
स्थापना दिवसको अवसरमा सहकारीका सदस्य एवम अन्य स्थानीय समेत गरि २६ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपानेले मानव जिवनमा अन्य दानहरु भए पनि रक्तदानको महत्व ती सम्पूर्ण दानहरु भन्दा बढी रहेको बताउनुभयो । उहांले एक जनाले गरेको रक्तदानबाट अन्यको ज्यान जोगाउन सकिने भएकोले सक्षम ब्यक्तिलाई रक्तदान गर्न अगाडी आउन आग्रह गर्नुभयो ।
हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार लाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति बेचन गुप्ताको स्वागत र सचिव अम्बिका तिवारीको सञ्चालन रहेको थियो ।
