बुटवल, ७ पुस । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माण तर्फको ठेक्का सम्झौता गरिएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभी बिच आइतबार काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।
भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा दिइएको जानकारी अनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रु एक अर्ब २० करोडमा लिएको छ । निर्माण कम्पनी सम्झौतामा २७ महिनाको समय सीमा तोकिएको भएपनि दुई बर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाईएको छ ।
करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रति युनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रति युनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो ।
प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढिभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागि गराएको जानकारी दिनुभयो ।