रामकुमार श्रेष्ठ नवलपरासी, ७ पुस । नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएका हरेक सन्धि सम्झौता नेपालको हित अनुकुल नभएको बताउनुभएको छ । उहांले कतिपय सन्धि सम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालका भएका समेत औंल्याउनु भयो ।
क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा परासीमा भएको राष्ट्रिय स्वाधिनताका आन्दोलनमा पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य सुवेदीले भारतीय पक्षबाट अतिक्रमण भएको सुस्ता, लिम्पियाधुरा कालापानी, लिपुलेक लगायतका क्षेत्रको समस्या समाधानका लागि सरकारले मुखले पहल गर्छु भने पनि कुटनितिक रुपमा अगाडि बढाउन नसकेको टिप्पणी गर्नुभयो ।
उहांले दुई देशबीच कुटनैतिक रुपमा पहल गरेर समस्या हल नभए सीमा समस्या समाधानका लागि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले राष्ट्रियताका सवालमा यो सरकारलाई सम्पूर्ण दल र सिंगो राष्ट्रको समर्थन रहँदा पनि आवाज उठाउन नसकेको र भारतसँग प्रत्यक्ष कुरा गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले क्रान्तिकारी पत्रकार महासंघले राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारहरुको भूमिका बिषयमा देशब्यापी रुपमा अन्तरक्रिया सञ्चालन गर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारी आजादले सरकारले भारतबाट भएको सीमा अतिक्रमणको विषयमा भारत सरकारसँग आवाज उठाउन चुकेको बताउनुभयो ।
नेपाली काँग्रेस पश्चिम नवलपरासीका सचिव विक्रम यादवले नेपाली भूमि भारतले मात्र नभई चिनले समेत अतिक्रमण गरेको बताउँदै दुवै देशका सरकारसँग नेपाली भूमि फिर्ताका लागि कुटनीतिक रुपमा पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य पुरन चौधरीले थारु नेपालको भूमि पुत्र भएकोले नेपालको सीमा रक्षाको जिम्मा आफ्नो समुदायलाई दिए जुन सुकै हालतमा रक्षा गर्ने बताउनुभयो ।
राप्रपा संयुक्त नवलपरासीका प्रवक्ता सन्तोष पाण्डेले सरकारले सीमा रक्षाको विषयमा भारतसँग सोझै कुरा उठाउन नसकेको आरोप लगाउदै सीमामा नेपाली सुरक्षाकर्मी परिचालन गरेर सीमा रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष आदम खाँले कालापानी र लिपुलेकमा मात्र नभई सुस्तामा पनि भारतले सीमा अतिक्रमण गरेको भएपनि सुस्ताको विषयलाई सरकारले गम्भीरता पूर्वक नलिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा समाजवादी पार्टी पश्चिम नवलपरासीका उपाध्यक्ष अमिरउल्ला मिया, राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला सल्लाहाकार तिलक सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपसचिव खड्कबहादुर घर्ती, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव महेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका हरि शर्मा, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीलगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नवलपरासीका राजनीतिक दलका प्रतिनिधि, सुस्ता बचाउ आन्दोलनका अगुवाहरु, पत्रकार, नागरिक समाज, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा भएको हो ।