नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार मञ्च साउथ एशिया कमिटिका संयोजक बृजराज कुशवाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पुस १० गते शुरु भई १२ गते सम्पन्न हुने यो अन्र्तदेशिय जल अधिकार सम्ममेलनमा भारत, नेपाल र बंगलादेशका नदी पीडित तथा जल अधिकारका अभियन्ताहरुको सहभागिता रहने छ ।
सम्मेलनमा भारतका पश्चिमी बंगाल, बिहार र उत्तर प्रदेशका विज्ञ, नदी पीडित तथा जल अधिकारका अभियन्ताहरु सहभागी हुने छन् । त्यसैगरी नेपालका पूर्वमा कमला नदी, कोशी नदी, वागमती नदी, कर्णाली नदी र महाकाली नदीका तटीय वासिन्दा तथा नेपालका नदी अधिकारकर्मी, जल अधिकारकर्मी, जल विज्ञ तथा मानव अधिकारकर्मीहरुको गरि करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ ।
पुस १० गते सुस्ता गाउँपालिका वार्ड नम्बर ५ नारायणी नदी किनार स्थित ठाढीघाटमा अन्तरदेशीय जल सम्मेलन गरिने बताईएको छ । यसैगरि दोश्रो दिन ११ गते गण्डकवासीका लागि प्रशिक्षण कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीको गान्धी हलमा सञ्चालन गरिनेछ र तेश्रो दिन अर्थात अन्तिम दिन त्यसै हलमा नदी अधिकार मञ्चको घोषणा पत्र जारी गरि सम्मेलनको विधिवत रुपमा समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पानीको असमान वितरण, बाढी, डुबान कटानमा नियन्त्रणको अभाव, जल विद्युतको उत्पादनमा कमी तथा गण्डकमा बनाईएका संरचनाले पार्न थालेको दीर्घकालीन प्रभावकाबारे सम्मेलनमा ब्यापक छलफलहुने बताईएको छ ।
