बुटवल, ३० मंसिर । बुटवललाई आगामी पुस ५ गते सहयोगापेक्षी, बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिने भएको छ । यसकालागि बुटवल उपमहानगरपालिकाले तयारी तिब्र बनाएको छ ।
बुटवल उपमहानगरपालिकाले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले आगामी पुस ५ गते एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरलाइ सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने तयारी गरेको हो ।
बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने सन्दर्भमा आज आयोजित छलफल कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाइ सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाउन लागिएको बताउनु भयो ।
यो अभियानलाई सार्थक वनाउन सडकमा बेसहारा रुपमा जीवन विताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसंग सहकार्य गरिरहेको समेत प्रमुख सुवेदीले बताउनु भयो ।
पत्रकार, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य र सबै कर्मचारीसंग आयोजित छलफल कार्यक्रममा मावन सेवा आश्रमकी केन्द्रिय महासचिब रुपा केसीले बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्दार गर्ने, आश्रममा लैजाने र उपचारको खँचो रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउने काम भैरहेको वताउनु भयो ।
उहांका अनुसार मानवसेवा आश्रममले गतसाल पुस ७ गतेदेखि यता एक बर्षको अवधिमा १९७ जनाको उद्धार गरिसकेको छ भने अहिले रात्रीकालिन उद्धार सेवा समेत संचालन गरिएको छ ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले आश्रमको नियमति अनुगमन, वेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार, पालनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनरमिलन तथा मनोपरामर्शको सेवा प्रवाह गर्नेकामलाइ समेत प्रभावकारी रुपमा संचालन गरिएको बताउनु भयो ।
यस्तै यो अभियानका विषयमा बुटव उपमहानगरले भोली पुस १ गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाली सेना, मानवसेवा आश्रमसहितको बैठक बोलाएको छ ।