प्रति स्टल ५ लाखका दरले २५ करोडको बिमा
बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरी सेक्युरिटीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बुटवल देबीनगरमा हुने औद्योगिक ब्यापार मेला अवधिभर सुरक्षा व्यबस्थालाई ब्यवस्थित र चुस्त बनाउने गरि मेलाका सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिक र प्रालिका व्यबस्थापक बिरबहादुर जिसी बिच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार रातीको समयमा २५ जना र दिउँसोको समयमा ३० जना सुरक्षाकर्मी मेलाको सुरक्षामा खटिने छन् ।
त्यसबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट समेत मेलाको शान्ति सुरक्षाका लागि बिशेष निगरानी हुने बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा मेला सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिकले जानकारी दिनुभयो ।
त्यस्तै मेलामा सहभागि स्टल ब्यवसायी, मेलामा आउने दर्शकको सुरक्षा तथा समग्र मेलाको सुरक्षा अवस्थालाई थप प्रभावकारी, सुरक्षित र ब्यवस्थित बनाउनकालागि मेलाको चारैतिर सिसिटीभि क्यामरा जडान गरेर बिशेष निगरानी समेत गरिने संयोजक विकले वताउनु भयो ।
त्यसैगरी मेलामा प्रति स्टल ५ लाखका दरले भूकम्प, चोरी, आगजनी, हुलदंगा, हुरी बतास तथा व्यक्ति समेत समेटिने गरी २५ करोड रुपैंयाँको बिमा गरिएको संघका कोषाध्यक्ष तथा आर्थिक व्यबस्थापन उपसमितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

मेलामा ईन्द्रेणीको दोहोरी र रत्यौली
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा एबिसी टेलिभिजनबाट प्रशारण हुने ईन्द्रेणीको दोहोरी कार्यक्रम पनि सञ्चालन हुनेछ ।
मेलामा एबिसी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने ईन्द्रेणी समाजको दोहोरी प्रस्तुत गरिने संघका कार्यसमिति सदस्य, लोक सांस्कृतिक कार्यक्रम तथा साउण्ड सिष्टम व्यबस्थापन उपसमितिका संयोजक टंकप्रसाद गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ईन्द्रेणीको दोहोरी कार्यक्रम मेला सुरु हुने दिनदेखि ५ दिन सम्म सञ्चालन गरिने छ । प्रत्येक दिन दिउँसो ३ देखि ४ बजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रम एबिसी टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुने उहाँले बताउनु भयो । यसका साथै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।
१५ दिनसम्म सञ्चालन गरिने मेलामा खुल्ला दोहोरी गीत प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता र आमा नृत्य प्रतियोगिता सञ्चालन गरिने छ ।
त्यस्तै आधुनिक तर्फ भ्वाईस अफ बुटवल प्रतियोगिता सञ्चालन गरिने संघका कार्यसमिति सदस्य तथा आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी दिनुभयो । त्यस्तै स्थानीय कलाकारहरुको प्रवद्र्धन गर्नेगरी स्थानीय कलाकारहरुको प्रस्तुति संगै आदीवासी जनजाती र हास्यव्यङ्ग्य कलाकारहरुको समेत प्रस्तुती रहने उहाँले जानकारी गराउनु भयो ।