राजधानीका लागि तीन जिल्लाका छ ठाउँ प्रस्ताव
श्यामलाल पोखरेल
बुटवल, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ को नाम टुंगो लाग्ने भएको छ । राजधानीको नाम सिफारिस गर्न प्रदेश सभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएको जिम्मेवारी पूरा गरेको छ ।
प्रदेशको नाम समयमा टुंगो लगाउन नसकेकोमा आलोचित बनेको समितिले अन्ततः प्रदेशको नाम लुम्बिनी राख्न प्रदेश सभालाई सिफारिस गरेको छ । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुईतिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
संसदिय विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अपनाउंदै तोकिएको छ । ती सदस्यका अनुसार विवाद नआओस् भन्ने हिसाबले मध्यमार्गी बाटो अपनाइएको हो ।
समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्धभूमि तथा दाङको भालुवाङ र लमहीलाई राजधानी वनाउन सिफारिस गर्ने तयारी गरेको छ ।
नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभा बैठकले २०७५ साउनमा सांसद दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । पहिलोपटक तीन महिनाको समयसीमा दिइएको उक्त समितिले पहिलो तीन महिना बैठक नै बस्न नसकी म्याद गुजारेको थियो । समितिले पहिलो कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरिएको थियो । समितिले सो प्रतिवेदन संसद सचिवालयमा बुझाएको संयोजक दिपेन्द्र पुनले बताउनुभयो ।
