भन्सार मूल्याँकन बढि भएका कारण ब्यवसायी समस्यामा परेको गुनासो
बुटवल, २८ मंसिर । रुपन्देहीका मार्वल, टायल्स तथा सेनेटरी ब्यवसायीहरुले नेपालमा मार्वल टायल्सको उद्योग सञ्चालनका लागि वातावरण मिलाई दिन नेपाल सरकारसंग माग गरेका छन् । मार्वल, टायल खरिद गर्दा ठूलो धनराशी भारत जाने भएकाले त्यसलाई रोक्नका लागि पनि नेपालमा उद्योग सञ्चालन गर्नुपर्ने आवश्यक्ता उनीहरुले औंल्याएका हुन् ।
नेपाल मार्बल टायल्स एण्ड सेनेटरी डिलर्स एशोसिएसन रुपन्देहीको चौथौ साधारण सभामा बोल्ने व्यवसायीहरुले मार्वल टायल्सको उद्योग सञ्चालनका लागि नेपालमा राम्रो सम्भावना रहेको र उद्योग संचालनका लागि सरकार तयार भए व्यवसायीहरु उद्योगमा लगानी गर्न तयार रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्ने ब्यवसायीहरुले ब्यवसायीका समस्याप्रति सरकार उदासिन रहेको बताउंदै उनीहरुले सरकारको नीति नियम नै गलत भएका कारण उद्योगी ब्यवसायी ठूलो मर्कामा परेको गुनासो गरे ।
साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत तथा आफ्नो धारणा राख्दै नेपाल मार्बल टायल्स एण्ड सेनेटरी डिलर्स एशोसिएसन रुपन्देहीका अध्यक्ष शोभाकान्त पाण्डेले भारतमा सस्तो मुल्यमा खरिद गरिएका मार्वल, टायलको भन्सार मूल्याँकन उच्च हुदा एकातिर ब्यवसायीहरु मर्कामा परेका छन् भने अर्कोतर्फ राज्यको ठूलो धनराशी भारत जाने गरेकाले खरिद मूल्यकै आधारमा भन्सार मूल्याँकन गरिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष पाण्डेले खरिद मूल्य भन्दा भन्सार मूल्याँकन बढि हुंदा ब्यवसायी र उपभोक्ता मर्कामा परेको भन्दै वस्तु एवं सेवा कर (जीएसटी) विल अनुसार भन्सार मूल्याँकन हुनुपर्ने बताउनु भयो । उहांले भन्सार कार्यालयले ओभरलोडको समस्या देखाइ व्यवसायीलाई अनावश्यक दुःख दिनेगरेको बताउदै भन्सार मूल्याँकन र वस्तुको मूल्य मिलानका लागि विभाग, मन्त्रालय र सिडियो कार्यालयमा डेलिगेसन जांदा समेत कुनै सुनुवाई नहुंदा ब्यवसायीहरु ठूलो समस्यामा परेको वताउनु भयो ।
कार्यक्रममा रुपन्देहीको बेलहिया भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले राज्यको नीति अनुसारनै भन्सार कार्यालयले राजश्व संकलन गर्ने गरेको र भन्सार मूल्याँकन पनि राजश्व अशुल गर्ने उद्देश्य अनुरुप हुने गरेको बताउनु भयो ।
आन्तरिक उत्पादनलाई प्रश्रय दिने नीति अनुसार बिदेशबाट आयातित बस्तुको मूल्याँकन बढि गरिएको बताउदै भन्सार प्रमुख भट्टराईले आयात मूल्य यथार्थ र विश्सनिय नभएका कारण आयात मूल्य अनुसार मूल्याँकन नभएको वताउनु भयो । सेनेटेरीका सामानहरु चोरी पैठारीबाट नआउने बताउदै उहांले पारदर्शी हिसाव राख्न व्यवसायीलाई आग्रह गर्नुभयो । ब्यवसायीलाई परेका समस्या समाधानका लागि आफु प्रयत्नसिल रहेको बताउदै उहांले स्थानीय तहबाट सम्वोधन गर्न सकिने समस्या स्थानीइ स्तर वाटै र ठूला समस्या भए विभाग र मन्त्रालयसंग समन्वय गरेर पनि समाधान गर्न आफु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल अडिटर एशोसिएसनका केन्द्रिय सदस्य नेत्र ज्ञवालीले आआफ्नो पेशा व्यवसायप्रति सबै सचेत र इमान्दार हुनु पर्नेमा जोड दिनुभयो । उहांले बैकिङ्ग कसुर, सामाजिक सुरक्षा कोष र भिसिटिएस जस्ता समस्याले गर्दा ब्यवसायीहरु समस्यामा पर्ने गरेको बताउदै ब्यवसायीलाई सहजरुपमा ब्यवसाय संचालन गर्ने वातावरण राज्यले मिलाउनुपर्ने वताउनु भयो ।
भन्सार एजेन्ट संघ भैरहवाका पूर्व अध्यक्ष कृष्ण घिमिरेले कानुन एकातिर, व्यवहार अर्को तिर भएकाले व्यवसायी समस्यामा पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार खिमानन्द भट्टराइ, नेपाल मार्बल टायल्स एण्ड सेनेटरी डिलर्स एशोसिएसन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष घनश्याम तिवारी, उपाध्यक्ष मधुसुदन पाण्डे, मार्वल टायल्स श्रमिक संघका अध्यक्ष राममिलन भाट, व्यवसायी अर्जुनकुमार जैसवाल, कमला अर्याल लगायतले बोल्दै व्यवसायीका समस्याप्रति सरकारको ध्यान जान नसकेको र सरकारका गलत नीतिका कारण ब्यवसायी धरासायी भएको धारणा राख्नुभयो ।