श्यामलाल पोखरेल
बुटवल, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह रुपन्देहीको बुटवलस्थित मिलनचोकमा लड्नु भएको छ । पार्टीको काम विशेषले पैदल हिड्दै गरेको अवस्थामा मंसिर २७ गते उहां लड्नु भएको हो । सडक पेटीमा लड्दा ८४ वर्षिय कम्युनिष्ट नेता सिंहको निधारमा सामान्य चोट लागेको थियो ।
अर्धभूमिगत नेता सिंह आफ्ना निकटका एकजना साथिसंगै हिड्दै गरेको अवस्थामा सडकमा लड्नु भएको बताइएको छ । बुटवलको चौराहा हस्पिटलमा सामान्य उपचार गराएपछि नेता सिंह सोही दिन नै अस्पालबाट डिस्चार्ज भएर आफन्तको घरमा जानुभएको थियो । उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार नेता सिंहको अवस्था सामान्य रहेको छ ।
नेता सिंहको आफ्नो घर नभएकाले उहां आफन्तको घरमा आरम गर्न जानुभएको पार्टी स्रोतले बताएको छ । जीवनभर बामपन्थी राजनीति गर्दै आउनुभएका नेता सिंह सामान्य भाडाको कोठामा बस्दै आउनुभएको छ ।
पार्टीको कामले बुटवल आएको अवस्थामा पार्टीकै कामको सिलसिलामा हिड्दै गर्दा नेता सिंह लडेर सामान्य घाइते हुनुभएको नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जिसीले जानकारी दिनुभयो । उपचारपछि सिंहको अवस्था सामान्य रहेको र पार्टीको नियमित काममा खटिनुभएको समेत प्रवक्ता जिसीले जानकारी गराउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनका पुराना र पाका नेता मोहनविक्रम सिंहले व्यक्तिगत सवारीसाधन प्रयोग गर्नुहुदैन । नेता सिंह अहिले अर्धमूमिगत बनेर नेपाल कम्युनिष्ट पार्टी मसाल नामको पार्टी चलाउनु भएको छ ।
उहांले अहिलेसम्म राज्यको कुनैपनि सुविधा लिनुभएको छैन । जीवनभर कम्युनिष्ट पार्टीको राजनीति गरेर राज्यको कुनै सुविधा नलिने मध्येका एकल बृहस्पति हुनुहुन्छ नेता मोहनविक्रम सिंह ।
