रामकुमार श्रेष्ठ
नवलपरासी, २१ मंसिर । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिक स्थलको पूजा तथा दर्शनकालागि निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गर्नुभएको छ । पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गर्नुभएको हो ।
पाल्हीनन्दन गाँउपालिका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गर्नुभएको हो ।
मन्दिरमा पुजाआजा पछि संक्षिप्त भनाई राख्दै पुर्वराजा ज्ञानेन्द्रले सबै नेपाली एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । करिव एक मिनेट मात्रै बोल्नुभएका पूर्व राजाले सबै नेपालीको एकतामा जोड दिनुभयो । उहांले भन्नुभयो – ‘उपस्थित सबै महानुभावलाई धन्यवाद दिन चाहान्छु, नेपालीहरु सबै एकतावद्ध हुनुपर्छ, होस्टेमा हैसे गर्दै अगाडि बढ्नुपर्छ ।’
पुर्व राजा आउने भएपछि राजा समर्थकहरुले शुक्रबार देखिनै गेट निर्माण, नगर सरसफाई सहित ‘राजा आउ देश बचाउ’ लेखिएका व्यानर पनि ठाँउ ठाँउमा टाँगेका थिए ।
पूर्व राजाको स्वागतमा राप्रपा संयुक्तका नेताहरु, शिवसेना नेपालका युवा, स्थानीय लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । पूर्व राजाले पुजाआजा गर्दा र बाहिरिने क्रममा सर्मथकहरुले राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने जस्ता नारा लगाएका थिए ।
पुर्व राजालाई हेर्न उपस्थित भएको भिडका कारण शाहलाई मन्दिरबाट बाहिरिन समेत समस्या भएको थियो । शाहले शनिबार नै भलुहीमा रहेको गाई फार्मको पनि अवलोकन गर्नुभएको बताईएको छ ।