रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने
बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ ।
पूर्वराजा शाहले मंसिर १६ गते देखि देखि २२ गतेसम्म प्रदेश पाँचका रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लाका धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम रहेको सवारी ब्यवस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिनुभयो । पूर्व राजाको भ्रमण कार्यक्रम यस अघि नै सार्वजनिक गरिएको थियो ।

भ्रमण कार्यक्रम अनुसार पूर्व राजा शाहले मंसिर १६ गते सोमवार रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण तथा दर्शन गर्ने गर्ने कार्यक्रम तय भएको छ ।
सवारी व्यबस्थापन समितिका संयोजक सापकोटाका अनुसार १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगे स्थित पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

संयोजक सापकोटाले पूर्वराजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताए पनि उहांको राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ ।



