बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी
बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो ।
साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक बनको संरक्षण र विकास गर्दै बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्ने बताउनुभयो । बन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाइ बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतिकालागि प्रयोग गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।
बनलाइ पर्यापर्यटन संग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउदै मन्त्री गिरीले बनको विकास र यसबाट हुने आयश्रोतको सहि सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंगाको लडाइ देखिएको भन्दै मन्त्री गिरीले सरकार,सम्बन्धित निकाय तथा उपभोक्ताहरु सबैले बिधि बिधानमा टेकेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

शँकरनगर सामुदायिक बन र बन भित्र संचालन भइरहेको बनबाटिका बिच केही समस्याहरु सतहमा देखिएको र ती समस्या जुंगाको लडाइकै कारण निम्तिएको मन्त्री गीरीको भनाइ थियो । सामुदायिक बन भित्र निर्माण गरिने पर्यटकीय या अन्य संरचनाहरु तथा तिनको संचालनकालागि बन्ने समितिहरु बन समिति अन्तर्गत नै रहनुपर्नेमा मन्त्री गरीले जोड दिनुभयो ।
तिलोत्तमा नगरपालिकाले बन क्षेत्रमा बनाइरहेको भ्यु टावर निर्माणलाइ कसैले रेख नलगाउन भन्नकालागि कानुनी हिसावले नियमन गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । सामुदायिक बनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले चिडियाखाना र बनस्पति उद्यान निर्माण गर्न सकिने भन्दै मन्त्री गिरीले प्रदेश सरकारले बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि बन उपभोक्ता समितिका पदाधिकारी तथा सल्लाहकारहरुले समुदायिक बन भित्र निर्माण गरीएको बन बाटिकालाइ स्थानीय सरकारले स्वायत्त निकायको रुपमा अगाडी बढाउन खोजेको र बन संगको समन्वय बिनै भौतिक संरचना निर्माण गरिरहेको भन्दै असहमति प्रकट गरेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगर सरकार आफ्नो अधिकार क्षेत्रबारे जानकार रहेको र बिधि बिधानमै टेकेर बनबाटिकाको विकाससंगै भ्युटावर निर्माणलाइ गति दिइएको बताउनु भयो । अन्यत्र पनि सामुदायिक बन भित्र पर्यटकीय संरचना निर्माण गरी छुट्टै समिति मार्फत संचालन भइरहेको दृष्टान्त प्रस्तुत गर्दै नगरप्रमुख घिमिरेले उपभोक्ता समितिका केही व्यक्तिहरुले नगर सरकारलाइ नटेरेको भन्दै आक्रोस ब्यक्त गर्नुभयो ।

हिजो तपाइहरुले के के गर्नु भो ? के के संरचना निर्माण भएका छन् ? ? हिजो बन ऐन थिएन ? भन्दै नगर प्रमुख घिमिरेले हिजोका मन्त्रीहरु दिपक बोहोरा, बिष्णु पौडेल आउदै उद्घाटन गर्दै गर्दा तपाइहरु कहाँ जानुभाथ्यो ? आज तपाइहरुले जोर जुलुम गर्ने ? हामीलाइ दुःख दिने ? नगरप्रमुख घिमिरेले प्रश्न गर्नुभयो । नगरपालिकाले गरेका विकासका काममा कसैले अवरोध सृजना गर्न नसक्ने भन्दै उहांले कुनै एउटा काम रोकेर हेर्न चुनौति समेत दिनुभयो ।
बन उपभोक्ता समितिका अध्यक्ष राम गिरीले समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वनलाई नागरिकको समृद्धिसँग जोड्नुपर्दछ भन्ने मान्यता सहित सामुदायिक वनमा वैज्ञानिक वन ब्यवस्थापनको काम शुरु भैसकेको र वनको बृहद गुरुयोजना निर्माण गरी सोही अनुसार कामको थालनी अगाडी बढाईएको सभामा जानकारी गराउनु भयो ।

कार्यक्रममा जिल्ला बन कार्यलयका प्रमुख इन्द्र पछाई, समूहका कानुनी सल्लाहकार एवम् ५ नं प्रदेश कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमाकान्त पौड्याल, काँग्रेस महासमिति सदस्य यमबहादुर खत्री, समूहका वरिष्ठ सल्लाहकार प्रेमनारायण खरेल, सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्य, समूहका पूर्व अध्यक्ष प्रेमबहादुर भण्डारी, तिलोत्तमा चेम्वर अफ कमर्सका जेपि कँडेल, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शंकरनगर खानेपानी संस्थाका अध्यक्ष हरि प्रसाद तिवारी, तिलोत्तमा ४ का वडाध्यक्ष दिवाकर ढकाल, प्रथम सहिद लखन थापा मगर समितिका संयोजक माथवर सिंह सलामी, जनजागृति माविका प्रधानाध्यापक टंक पौडेल, नेपाल विद्युत प्राधिकरणका विश्वरञ्जन मिश्र, आनन्दवन मधुवन सामुदायिक वनका अध्यक्ष ध्रुव धिताल, समूहका उपाध्यक्ष रबिन्द्र बस्नेत, सचिव इन्दु थापा, लेखा समिति संयोजक ठाकुर प्रसाद ढकाल, पार्षद तोलाकान्त डुम्रे, महिला पार्षद देवि सापकोटा लगायतले बोल्दै पोथ्रा पोथ्रा भएको बनलाइ हराभरा बनाउदै नमुना सामुदायिक बनको रुपमा विकास गर्न समुदायको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।
उहांहरुले संघियता कार्यान्वयन सगै बनेका ऐन नियमहरु पनि समुदायिक बन मैत्री नभएको भन्दै सुधारकालागि सरकारसंग आग्रह गर्नुभयो । कार्यक्रममा शंकरनगरमा रहेका ८ वटा सामुदायिक विद्यालय वाट एसईई मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक छात्रा गरी प्रत्येक विद्यालयका दुई दुई जनालाई नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो भने सामुदायिक वन क्षेत्र भूमिगत विद्युतिकरणमा सहयोग पुर्याएको भन्दै नेपाल विद्युत प्राधिकरणका विश्वरन्जन मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साधारण सभाको वन्द सत्रमा समूहका कोषाध्यक्ष कांशिराम काफ्लेले अध्यक्षको प्रतिवेदनमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा योजनाहरुलाई विनियोजन गरिएको वजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहांले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्ताव गरिएको रु. १ करोड ६९ लाख ८ हजार ११९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । वन्द सत्रले अध्यक्ष, कोषाध्यक्ष, लेखा संयोजकको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पारित गरेको समूहका सदस्य कमला ज्ञवालीले जानकारी दिनुभयो ।