रामकुमार श्रेष्ठ
नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।
स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गर्नुभएको हो । ८ सय ५३ जना मतदाता रहेका यस वडामा ६ सय १५ मत अर्थात जम्मा मतको ७२ दशमलब ०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा महिलाको ३ सय ५८ र पुरुषको २ सय ५७ मत खसेको छ ।
मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रातिदेखि नै मतगणना शुरु भएको छ । वडाअध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि यहाँ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । वडाअध्यक्षमा नेकपाबाट मृतकका जेठा छोरा खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट मृतकका साला तुलबहादुर राना मगर र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिनुभएको छ ।