धकधई, ९ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानीय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा एनएल ९७१, आदित्य र भृकुटी लगायत उन्नत जातका गहुँका बिउहरु किसानलाई बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । गाउँपालिकाबाट १० लाख बजेट बिनियोजन गरि र १० लाख कृषकहरुबाट लिएर २० लाख बराबरको ७ सय ५० बोरा गँहुको बिउ बितरण गरिएको अध्यक्ष यादवले बताउनु भयो ।
अघिल्लो बर्ष पनि सोही परिमाणमा बिउ बितरण गरेको कार्यालयले आगामी बर्ष देखि बजेट बढाएर बढी बिउ बितरण गर्ने योजना बनाएको अध्यक्ष यादवले बताउनु भयो । यो बिउ प्रयाप्त छैन तर कृषकलाई थोरै भए पनि राहत दिने उद्देश्यले बितरण गरेका छौं अध्यक्ष यादवले भन्नुभयो –“आगामी बर्ष देखि बजेट बढाएर अलि धेरै बितरण गर्ने छौं ।”
गाउँपालिकाको कार्यालयले गँहुको बिउ मात्र नभई बरसिन, च्याउ लगायतको बिउ पनि मौषम अनुसार बितरण गर्ने गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार कृषकहरुलाई बिउ बिजन मात्र नभई समय समयमा आधुनिक कृषि, बेमौषमी तरकारी खेती लगायतका बारेमा तालिम समेत प्रदान गरिदै आएको छ ।
