बुटवल, ९ मंसिर । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा प्रथम जिल्ला स्तरिय अन्तर मा.वि टेवलटेनिस प्रतियोगिता शुरु भएको छ । बुटवलको प्रगतिनगरमा रहेको बुटवल व्याडमिन्टन क्लबमा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्लाका २० वटा विद्यालयबाट करिब २५० जना विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।
सोमबार भएको उदघाटन खेलमा विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत पुरुष डबल, महिला डवल, सब जुनियर छात्र छात्रा,जुनियर छात्र छात्रा, सिनियर छात्र छात्रा, शिक्षक एकल सहितका खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराउनु भयो ।
प्रतियोगिताको उदघाटन गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले रोट्रयाक्ट डाउनटाउनले समाजको सकारात्मक परिवर्तनकालागि खेलेको भूमिका महत्वपुर्ण रहेको भन्दै यस संगै क्लवले यस्ता प्रतियोगिता आयोजना गरेर खेल, खेलाडी र समग्र खेल क्षेत्रको विकासकालागि पनि महत्वपुर्ण योगदान पु¥याएको बताउनु भयो ।
कार्यक्रममा रोटरी डिस्ट्रिकका ए.जि राजेन्द्र ढकाल, रुपन्देही टेवल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, रोटरी सेन्ट्रलका अध्यक्ष राजेन्द्र कार्की, बुटवल व्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा लगाएतले बोल्दै रोट्रयाक्ट क्लवले जस्तै अन्य क्लवहरुले पनि खेल क्षेत्रको विकासका लागि केही न केही योगदान गर्न सके खेल क्षेत्रको विकासले फड्को मार्ने बताउनु भयो । प्रतियोगिताको समापन मंगलबार १० गते गरिने कार्यक्रम संयोजक महेश खनालले जानकारी गराउनुभयो । कार्यक्रमको संचालन क्लबका सचिव सौरभ भुषालले गर्नुभएको थियो ।