बुटवल, ५ मंसिर । लाफा समूहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ र ६ गते दुई दिन सम्म प्रतियोगिता संचालन हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समूहका अध्यक्ष तारासिंह रेश्मीले जानकारी गराउनु भयो ।
युवाहरुलाई खेलमार्फत एकतावद्ध गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उहांले बताउनु भयो । यो प्रतियोगिता यस क्षेत्रमा आयोजना गरिएका ब्याडमिन्टन प्रतियोगिताहरु मध्ये सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको उहांले बताउनु भयो ।
दुई चरणमा खेलाईने प्रतियोगितामा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, द्धीतिय टिमले नगद १५ हजार १ सय ११ तथा तृतिय हुने टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगितामा करिब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले जानकारी गराउनु भयो । करिव २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
क्लबका सल्लाहकार बासुदेव लामिछानेले क्लबका सदस्य तथा खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता हुन लागेको बताउनु यो । क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङ्गहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उहांले बताउनु भयो ।