रामकुमार श्रेष्ठ
नवलपरासी, ३० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने दावी गर्नुभएको छ ।
अहिले नेपालमा हरेक बर्ष सरदर १२ लाख पर्यटक भित्रिएको बताउँदै मन्त्री भट्टराईले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गर्नुभएको हो ।
शनिबार नवलपरासीको कावासोतीमा कावासोती नगरपालिका र तराई भूुपरिधि कार्यक्रमको सहयोगमा निर्मित मुसहर सुरक्षित आवास तथा होम स्टे उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहांले नेपाल भ्रमण बर्षलाई लक्षित गरी नेपालमा सञ्चालित होम स्टेहरुले विदेशी पर्यटकलाई पनि रोक्न सक्ने खाले होम स्टेलाई स्तर वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।
होम स्टे सञ्चालकहरुले होम स्टेको नाममा बाहिरबाट आयात गरिएका सामग्रीहरु राख्ने गरेको र त्यस्तो गर्दा होम स्टे प्रतिको आकर्षण घट्ने गरेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो – “होम स्टे स्थानीय स्तरमा उत्पादित वस्तु, स्थानीय स्तरमा उत्पादिन खाद्य, स्थानीय स्तरमा उत्पादित पेय पदार्थहरु नै पाहुनालाई दिनु पर्दछ । त्यसले हाम्रो मौलिकता बढाउँछ । स्थानीय आम्दानीलाई बढाउँदछ ।”
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद रोशनबहादुर गाहा, कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मन्त्री भट्टराईले गौतमबुद्ध विमान स्थल सन् २०२० मा अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा सञ्चालन हुने भएकोले गौतमबुद्ध विमान स्थल अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा विदेशी पर्यटकहरु बढ्ने बताउनुभयो ।