बुटवल, २८ कार्तिक । न्यु होराईजन ईन्टर स्कूल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा दुर्गा शैक्षिक गृह र सनसाईन बोर्डिङ स्कुल विजयी भएका छन् ।
विहिबार भएको पहिलो खेलमा दुर्गा शैक्षिक गृहले ईलिट बोर्डिङ स्कुललाई १ सय ६९ रन तथा सनसाईनले नवज्योती बोर्डिङ स्कूललाई २१ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
न्यू होराईजन एजुकेशन ईष्न्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजीवन खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ईलिटले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेको दुर्गा शैक्षिक गृहका ब्याट्सम्यानहरुले पुरै २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय २५ रनको विशाल योगफल तयार गरेका थिए । दुर्गा शैक्षिक गृहका लागि अप्सन भण्डारीले ९५ रन नटआउट तथा बिमल चालिसेले ५४ रन बनाए । ईलिटका सर्भेस रुचालले १ विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको ईलिटका ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । आकाश थापाले ८ रनमात्र जोडे । ईलिटका ब्याट्सम्यान १३.३ ओभरमा केवल ६६ रनमा अल आउट भए । कम स्कोरमा रोक्न दुर्गा सैक्षिक गृहका सौरभ पाण्डेले २ विकेट तथा अभिषेक शर्माले २ विकेट लिएका थिए । खेलमा दुर्गा शैक्षिक गृहका अप्सन भण्डारी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्न मैदान छिरेको सनसाईनका ब्याट्सम्यानहरुले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय २३ रन बनाएका थिए । सनसाईनका मनदिप खत्रीले २९ तथा रिसब खरेलले २४ रन बनाएका थिए ।
नवज्योतीका सौरभ पाण्डेले ३ विकेट तथा सागर खनौजियाले २ विकेट लिएका थिए । मध्यम स्कोर पछ्याएको नवज्योती पुरै ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय २ रनमात्र जोड्न सफल भयो । नवज्योतीका सुमन ज्ञवालीले ४९ तथा सागर खनौजियाले १७ रन बनाएका थिए । खेलमा सनसाईनका सुशान्त खरेल म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो चरणको खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुल र सयपत्री बोर्डिङ स्कूलका बिचमा तथा दोस्रो खेल काशी नोबेल र ज्ञानकुञ्ज माविका बिचमा हुने छ । तिलोत्तमा नगरपालिका नवजीवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालय प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतियोगिताका संयोजक शक्ति गौचनका अनुसार प्रतियोगिताको उपाधि विजेता नगद २० हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेता नगद १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् ।