बुटवल, २८ कार्तिक । रुपन्देहीमा जारी स्वर्गीय ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको प्रतियोगितामा सुनौलो संगम युवा क्लब देबीनगर फाईनलमा प्रवेश गरेको छ ।
भैरव देशभक्त बर्दघाटलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले फाइनलको यात्रा तय गरेको हो ।
सयपत्री गोल्डकपको उपाधिका लागि सुनौलो संगमले शनिबार फर्साटिकर युवा क्लबसंग फाईनल भिडन्त गर्ने छ ।
बुटवल रामनगर खेलमैदानमा भएको खेलमा सुनौलोको जितका लागि मोहन थापाले गरेको गोल निर्णायक रह्यो । थापाले खेलको ४० औ मिनेटमा एकमात्र गोल गरेका थिए । अतिरिक्त समयमा देशभक्त बर्दघाटका तर्फबाट गोलका प्रयासहरु भएपनि सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए ।
खेलमा सुनौलो संगमका मोहन थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।
