नेपालको संमृृद्वि र स्वाभिमानका लागि एकता आवश्यक : नेता पौडेल
बुटवल, २८ कार्तिक । लायन्स क्लव अफ बुटवल सिद्धबाबाले बुटवल–१३ नयाँगाउँमा १ करोड लागतमा निर्माण गरेको लायन्स सिद्धबाबा स्वाथ्य उपचार केन्द्रमा आज (बिहिबार) देखि उपचार सेवा शुरु गरेको छ ।
बुटवल–१३ नयाँगाउँमा रहेको नयाँगाउँ उच्चमाविले उपलब्ध गराएको ५ कठ्ठा क्षेत्रफलमा सचिवालय सहितको २ तला भवन निर्माण गरेर क्लवले मधुमेह रोगको परिक्षण शुरु गरेको हो ।
नवनिर्मित भवन तथा स्वास्थ्य उपचार केन्द्रको विहिवार प्रतिनिधि सभा सदस्य तथा पुर्व अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहनुभएका सांसद पौडेलले संविधानले निर्देश गरे अनुसार समाजलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।
संविधानलाई कार्यान्वयन गरेर अगाडी बढ्दा मुलुकले फड्को मार्ने बताउदै नेता पौडेलले नेपालको संमृृद्वि र स्वाभिमानका लागि सबैवीच एकता हुनुपर्ने बताउनुभयो ।

विकासमा एकता र सहकार्य आवश्यक रहेको बताउदै उहांले हिजो चुनाबमा भोट दिएको विषयलाई लिएर बिकासमा विवाद गर्न नहुने बताउनुभयो । हिजो जो जसले जेमा भोट दिएपनि आज विकासको लागि एक ठाउंमा हुन आग्रह गर्नुभयो । विकासमा महत्वपूर्ण आयाम शुरु भएको उल्लेख गर्दै उहांले सिद्वाबाबाको सुरुङ मार्गको टेण्डर गर्ने तयारी भएको जानकारी गराउनुभयो ।
उहांले बुटवल–नारायण सडकखण्ड विस्तारको काम केही समयपछि शुरु हुने बताउंदै विकासका मुद्वामा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर अनुपकुमार पहाडी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पूर्व डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठ, रामप्रसाद भट्टराई लगायतले बोल्दै सामाजिक काममा सबैको सहभागिता आवश्यक पर्नेमा जोड दिनुभयो ।
विश्व मधुमेह दिवसको अवसरमा आयोजित भवन उद्घाटन, स्वास्थ्य उपचार केन्द्रको शुभारम्भ तथा क्लवको पदस्थापन समारोहको अवसरमा बृहद निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो ।
स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परिक्षण गराएको क्लवका अध्यक्ष डिल्ली नारायण पाण्डेले जानकारी गराउनुभयो ।

सो अवसरमा लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनको प्रचारप्रसारको लागि पूर्वी जिल्लामा जाने क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार डायलसन अधिकारीको परिवारलाई ५१ हजार आर्थिक सहयोग गरेको छ ।
क्लवका अध्यक्ष गणेश प्रसाद भट्टराईको अध्यक्षता र रामप्रसाद बञ्जाडेको सञ्चालनमा भएको पदस्थापन कार्यक्रममा डिल्ली नारायण पाण्डेलाई आगामी अध्यक्षको पदस्थापन गराईएको थियो ।
लायन्स क्लव अफ बुटवल सिद्वाबाबाको सक्रियतामा १ करोड लगानीमा निर्माण भएको दुई तले भवन क्लवका सदस्यहरु र दाताहरुको आर्थिक सहयोगमा निर्माण गरिएको लायन्स क्लव अफ सिद्धबाबाका पुर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाका पुर्व अध्यक्ष टंक प्रसाद गैरेका अनुसार २ तलाको भवनमा पहिलो तलमा प्रयोगशाला, सहित औषधी उपचार गर्ने कक्ष निर्माण गरिएको छ भने दोस्रो तलामा क्लवको सचिवालय सहित अन्य संरचना निर्माण गरिएको छ ।
पहिलो चरणमा ‘लायन्स सिद्धबाबा स्वाथ्य उपचार केन्द्र’ नामाकरण गरी सेवा शुभारम्भ गरिएको भवनमा निकट भविष्यमा नेपाल सरकार स्वाथ्य मन्त्रालयबाट सम्बन्धत प्राप्त गरी आधुनिक ल्याब सहितको मधुमेह उपचार हस्पिटल निर्माण गरिने लक्ष रहेको छ ।
उक्र स्वास्थ्य उपचार केन्द्रमा महिनाको अन्तिम शनिवार चिकित्सकहरु डा. प्रदिप शाही र बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले निशुल्क रुपमा सेवा प्रदान गर्नुहुने लायन्स क्लव अफ सिद्धबाबाले जनाएको छ ।
