बुटवल, २७ कात्तिक । परराष्ट्रविद पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको र संयुक्त बैठकबाट पनि सबै राजनीतिक दलहरु उहाँकै पछाडी देखिएकाले पनि सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले देशमा संयन्त्रहरुलाई सक्रिय बनाउनु पर्ने र दुईदेशबिच बिश्वासको वातावरण बनाउनु पर्ने बताउँदै उहाँले एक अर्कालाई सम्मानको वातावरण बन्ने र समानताको भावना बिकास हुने हो भने सिमा बिवाद सजिलै समाधान हुने बताउनु भयो । ‘भूगोल र ईतिहास नबुझिकन अंगाडी बढ्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘भारतसंग सिमा विवाद मात्रै नभएर राष्ट्रिय जीवनसंग जोडिएको सम्बन्ध पनि छ ।’
नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट उत्पन्न हुनेगरेको बताउँदै उहाँले भन्नुभयो–‘हाम्रा नेताको दोहोरो चरित्रका कारण हाम्रा नेतालाई भारतले गम्भिर रुपमा नै लिँदैन ।’ आफू सत्तामा रहँदासम्म ठिक र आफु सत्ताबाट बाहिरिएपछि बिदेशी प्रभुका रुपमा परिभाषित गर्ने प्रबृत्तिका कारण पनि वेलावेलामा खटपट उत्पन्न भईरहेको उहाँको भनाई थियो ।
रिपोटर्स क्लवले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रविद भट्टराईले नेपाल भारतबिचको सिमा विवाद पुरानै समस्या भएपनि मौषमी रुपमा आएको मात्रै बताउनु भयो । उहाँले नेपाल भारत बिच मात्रै नभएर उत्तरमा पनि समस्या रहेकाले सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने बताउँदै समस्याको दीर्घकालिन समाधानकालागि सरकारले आफ्ना सम्यन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उच्च अदालत बुटवल बार एशोसियनका अध्यक्ष जोगबहादुर खत्रीले लिपुलेख, लिम्पियाधुरा मात्रै नभएर सिचिएका भूभाग फिर्ता गराउने एउटा अवसर पनि भएकाले यसलाई चुनौतीका रुपमा मात्रै नभएर अवसरकार रुपमा लिएर ती भूभाग फिर्ता गराउन सरकारले कुटनीतिक पहल कदमी उठाउनु पर्ने भनाई राख्नुभयो ।
