‘आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने लक्ष’
बुटवल, ९ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शँकरनगरमा ५ जना युवाहरुको सामुहिक लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित महंगा कपडा प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने गरी साढे ६ करोड लगानीमा ‘लिडाज फेसन निटवेयर प्रा.लि.’को नाममा गार्मेन्ट उद्योग सञ्चालन गरिएको हो ।
उक्त गार्मेन्ट उद्योगको शनिबार नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका काँग्रेस नेता खाँणले मुलुकको समृद्धिकालागि औद्योगिक क्षेत्रमा लगानी अपरिहार्य रहेको र लगानीको वातावरण सरकारले बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै नगर प्रमुख घिमिरेले नगरपालिकाले लगानीको वातावरण बनाएको बताउँदै स्थानीय सरकारबाट हुनुपर्ने लगानी मैत्री वातावरण निर्माणमा आफू लागिपरेको बताउनु भयो । तिलोत्तमा नगरपालिकामा लगानी भित्र्याउनकालागि नै स्थानीय सरकारले वातावरण निर्माण गरेर लगानी सम्मेलन समेत गरेको उहांले स्मरण गराउनु भयो ।
यसै क्षेत्रका युवाहरु ईन्द्र खड्का, लक्ष्मण भण्डारी, सुरेश भण्डारी, डम्बर तिवारी र श्रवणकुमार अग्रहरी ५ जनाको संयुक्त लगानीमा पश्चिम नेपालमै उच्च प्रविधियुक्त गारमेन्ट उद्योग पहिलो भएको दावी गरिएको छ ।

उक्त उद्योगले निर्यात प्रवद्र्धन गर्नेगरी उच्च गुणस्तरयुक्त कपडाको उत्पादनलाई जोड दिएको बताउँदै निकट भविश्यमा युरोप तथा अमेरिकालगायतका देशहरुमा समेत आफ्नो उत्पादन बिक्री वितरण गरिने उद्योगका अध्यक्ष ईन्द्र खड्काले जानकारी गराउनु भयो ।
कम्पनीले उुलन, कटन तथा एक्रेलिक धागोबाट उच्च प्रविधिको कम्प्युटराईज मेशिनबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरयुक्त कपडा उत्पादन गरिएको उहाँले जानकारी गराउनु भयो । उद्योगमा रोजगारीकालागि स्थानीय महिलालाई प्राथमिकता दिईएको र हाल ७० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको जानकारी गराउँदै अध्यक्ष खड्काले निर्यातसंगै आयात प्रतिस्थापनमा पनि उद्योग कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल उक्त उद्योगमा दैनिक सरदर ३ सय थान तयारी कपडा उत्पादन गर्ने क्षमता रहेको र आवश्यकता अनुसार क्षमता बढाउँदै लैजाने उद्योगका सञ्चालक डम्बर तिवारीले बताउनु भयो । उक्त उद्योगमा ४० बढि डिजाईनका तयारी कपडा उत्पादन हुने गरेको छ ।
तिहार तथा छट पर्वको अवसरमा उद्योगको उद्घाटन र शो रुमको शुभारम्भ गरेको उद्योगले उद्घाटन तथा शो रुम शुभारम्भ बिशेष अफर अन्तर्गत आज उद्योग बाट उत्पादित विभिन्न ब्राण्डका महिलाहरुले लगाउने तयारी उलन कपडाहरु ४० प्रतिशत छुटमा विक्री वितरण गरेको छ । यस्तै तिहार बिशेष अफर अन्तर्गत आईतबार र सोमबार दुई दिन २० प्रतिशत छुटमा विक्री वितरण गरिने उद्योगका संचालहरुले वताएका छन् ।

लिडाज गार्मेन्ट उद्योगबाट उत्पादित तयारी कपडाहरु हाल काठमाण्डौ र पोखरामा विक्री वितरण भैरहेको छिटै नेपालका अन्य शहरमा समेत बजार विस्तार गरिने संचालक तिवारीले जानकारी गराउनु भयो ।
यस्तै उद्योगले नेपाल भ्रमण बर्ष २०२० लाई प्रबद्र्धन र प्रचार गर्ने गरी भिजिट नेपाल २०२० लोगो अंकित हाईनेक र स्वेटरको समेत उत्पादन गरी स्वदेश तथा विदेशमा विक्री वितरण गर्ने तयारी समेत गरेको छ ।
