‘सरकारले जनअपेक्षा पूरा गर्न सकेन’
बुटवल, ९ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । उहांले नेकपाले अदालत, प्रशासन, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण गरेको बताउनु भयो ।
मानवअधिकार, अभिब्यक्ति स्वतन्त्रता र धर्म संस्कृतिमाथि भैरहेको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भयो ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता पौडेलले नेकपाले गरिरहेको सत्ता कब्जाको बिरुद्धमा शशक्त रुपमा लड्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । सरकारले हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिस गरिरहेको भन्दै उहांले राजनीतिप्रति बितृष्णा पैदा गर्ने, कानुन उल्लंघन गर्ने र सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने बताउनु भयो ।
दुई तिहाईको कम्युनिष्ट सरकारको २२ महिना बितेपनि सरकारले जनअपेक्षा पूरा गर्न नसकेको उहांको दाबि छ ।
सरकारले गीतकार, गायक, दुर्गेश र पशुपतिमाथि प्रतिबन्ध, सिर्जनामाथि हस्तक्षेप र अभिब्यक्ति स्वतन्त्रतामाथि दमन गरिरहेको आरोप लगाउंदै नेता पौडेलले सरकारको यस्ता क्रियाकलाप संबिधान बिपरित रहेको बताउनु भयो ।
मुलुकमा नेपाली काँग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता र थिति बसाल्न तथा संस्कार र संस्कृतिको जगेर्ना गर्ने काम कांग्रेसबाट मात्र सम्भब हुने उल्लेख गर्नुभयो ।

नेता पौडेलले भर्खरै चिनीया राष्ट्रपतिको नेपाल भ्रमण सकिएको र त्यसपछि सत्ताधारी नेकपाले सी बिचार नै आयात गर्न खोजेको आरोप लगाउनु भयो । मौलिकता फेरेर कसैको चाकडी नगर्न आग्रह गर्दै उहांले सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी नहुने, नजिक पनि नभईने र चीनले बिना स्वार्थ नेपालमा लगानी समेत नगर्ने बताउनु भयो । देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहिसंग सहमति गर्न नहुनेमा उहांले जोड दिनुभयो ।
भारत र चीनसंग राम्रो सम्बन्ध बनाउनुपर्ने तर त्यसअघि नेपालका दलसंग छलफल गरेर राजनैतिक सहमति बनाउनुपर्ने उहांको भनाई छ ।
नेता पौडेलले सरकारका गलत क्रियाकलापबाट आजित भएका जनताले सरकारलाइ सच्चाउनका लागि पनि उपनिर्बाचनमा नेपाली काँग्रेसलाई भोट दिने दाबि गर्नुभयो । उपनिर्वाचनले सरकारको कामको मुल्यांकन र काँग्रेसको हिसाब किताब गर्ने पौडेलले बताउनु भयो ।
फौजदारी अभियोग लागेका सांसदको निष्पक्ष अनुसन्धानमा काँग्रेसको सहयोग रहने भन्दै उहांले राजनैतिक पूर्वाग्रह साधिंएकाले घटनामाथि निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
युवा नेता पौडेलले नेपाली काँग्रेसको नेतृत्व परिवर्तन र बिचार बदल्न जरुरी रहेको बताउदै नेतृत्व परिवर्तन आजको आबश्यकता भएको बताउनु भयो । अबको चुनाब जित्नका लागि काँग्रेस बदलिएर आउनुपर्ने भन्दै उहांले ३३ प्रतिशत काँग्रेस ४८ प्रतिशतको नेकपासंग लड्न सक्नुपर्ने बताउनु भयो । अब हुने उपनिर्बाचनामा पार्टी भित्र गुट उपगुट हेरेर होईन जित्नेलाई टिकट दिनुपर्नेमा जोड दिदै नेता पौडेलले हिजोको गल्ती दोहो¥याउन नहुने बताउनु भयो ।
कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो