श्यामलाल पोखरेल
बुटवल, १२ असोज । समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) अध्यक्ष केपी ओली र प्रचण्डसंग भएको लिखित सहमति अनुसार संविधान संशोधन नभएको बताउनुभएको छ ।
पूर्व लिखित सहमति अनुसार संविधान संशोधन नभए आन्दोलनमा जाने उहांले बताउनु भयो ।
रिपोर्टर्स क्लवले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले संविधान संशोधन गरेर समाजवादी पार्टीले उठाएका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता हुने चेतावनी दिनुभयो । शर्तसहित सरकारलाई समर्थन गरिएको बताउंदै नेता राईले शर्त पुरा नभए सडकबाट आन्दोलन गरिने बताउनुभयोे ।
पूर्व मन्त्रीसमेत रहनुभएका नेता राईले भाषिक, धार्मिक, समानुपातिक, समावेसी, साशकीय स्वरुप र निर्वाचन प्रणालीप्रति संविधानमा त्रुटी भएकाले संविधान संशोधन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
सरकारका केही मन्त्रीहरुको अपरिपक्वताका कारण सरकार समस्यामा परेको उल्लेख गर्दै नेता राईले सरकारको पक्षबाट भएका अराजकता नरोकिए लोकतन्त्र र गणतन्त्रमाथि संकट आउन सक्ने बताउनुभयो । उहांले ज्ञानेन्द्र शाही माथि भएको आक्रमणप्रति लक्षित गर्दै सरकारले अनेक र हरेक बहानामा एकैलौटी गर्न खाजेको र लोकतन्त्रमा बोल्न पाउने अधिकारलाई कुल्चेर व्यक्ति केन्द्रित भएको भन्दै सरकार आफ्नै कारणले अप्ठ्यारोमा परेको बताउनु भयो । उहांले सत्ताको आडमा कसैलाई निषेध गर्न नहुने बताउंदै विप्लव नेतृत्वको नेकपाले उठाएका मुद्धालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । विप्लव नेतृत्व नेकपालाई हिंसाको बाटो छोड्न पनि उहांले आग्रह गर्नुभयो । क्लवका रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
