बुटवल, ४ असोज । रुपन्देही जिल्ला उद्योगी ,व्यापारिका लागि आकर्षणको क्षेत्र रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन् ।
रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकावन्दिको समयमा पनि निर्वाध संचालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि आकर्षण र संभावनाको क्षेत्र रहेकोमा वक्ताहरुले जोड दिएका हुन् ।
शनिवार आयोजना गरिएको औद्योगिक विकासका लागि रुपन्देही उद्योग सघको अवधारणा सार्वजनिक कार्यक्रममा वोल्ने वक्ताहरुले रुपन्देही जिल्लामा उत्पादन मुलक, कृषि तथा वनजन्य र पर्यटन उद्योगको लागि प्रचुर सम्भावना रहेको औल्याएका छन् ।
विश्वमा १ सय २५ करोड भन्दा बढी बुद्धिष्ट रहेका छन र उनीहरु एकपटक आफ्नो जीवनमा बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहन्छन् त्यस कारण पनि यस क्षेत्रमा पर्यटन उद्योगको प्रशस्त संभावना रहेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै पूर्व सहसचिव विष्णु ढकालले जिल्लामा उत्पादन मुलक र कृषि तथा वनजन्य, खनिज उद्योगहरुको लागि उपयुक्त वातावरण रहेकाले त्यसका लागि सामुहिक लगानी जरुरी रहेको बताउनु भयो ।
उहाँले उद्योगी, व्यापारीका लागि उपयुक्त स्थल भए पनि औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव, अत्याधुनिक प्रविधिको अभाव निर्यातयोग्य बस्तुहरुको विविधिकरणमा कमी कमजोरी तथा आपूर्ति व्यवस्थापनले गर्दा उद्योगी र व्यापारीले समस्या भोग्नु परेको धारणा राख्नु भयो ।
कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले विदेशी लगानी आकर्षण गर्ने गरि कानुन निर्माण गरिने बताउनु भयो । कृषि, वनजन्य र खानीमा आधारित उद्योगलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउदै उहाँले उद्योग मैत्री कानुन वनाएर विदेशी लगानीलाई सुरक्षित बनाईने उल्लेख गर्नु भयो । मन्त्री गिरीले सवैलाई ईमान्दार भएर काम गर्न आग्रह गदैं देशलाई आवश्यक पर्ने उत्पादन पुरा भएपछि निर्यातमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले लामो छलफल र अन्तरक्रिया गरि औद्योगिक विकासका लागि संस्थागत अवधारणा अगाडि सारिएको बताउदैं औद्योगिक विकासका लागि नीति निर्माण तहमा रहेको राजनीतिक नेतृत्वमा स्पष्ट सोच र ईच्छा शक्ति जरुरी रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, संघका महासचिव कृष्ण पराजुली लगायतले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि औद्योगिक वातावरण जरुरी रहेको औल्याउनु भएको थियो ।