बुटवल, ४ असोज । आज सेप्टेम्बर २१ अर्थात ३८ औँ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।
संसारका सबै देश र जनतामा शान्तिको कामनासहित यो दिवस प्रारम्भ भएको हो । नेपालमा भने यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।
युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । आज शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ । संयुक्त राष्ट्र संघले बेलाबेलामा शान्ति र अरु विषयगत अधिकारलाई सँगै जोडेर घोषणापत्रहरु जारी गर्दै आएको छ भने संयुक्त राष्ट्र संघका अलावा अन्तर्राष्ट्रिय रेडक्रस जस्ता संस्थाहरुले पनि शान्तिका लागि कार्य गरिरहेका छन् । तर आज विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्योभन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी, आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ । यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिइरहेको छ ।
मानव अधिकारको सम्मानबाट शान्ति स्थापना हुन्छ र उल्लंघनबाट नै शान्ति खल्बलिन्छ भन्ने मूल मन्त्रलाई राज्यले आत्मसात गर्न सके समाजमा शान्ति स्थापना हुन्छ । समाजमा शान्ति स्थापना हुन सकेमा नै विश्व शान्ति दिवसको सार्थकता रहन्छ ।
