बुटवल २९ भाद्र
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ को १६ औं श्रेत्रिय भेला सम्पन्न भएको छ । पार्टीका क्षेत्र नं २ अध्यक्ष दुद्ध बहादुर गुरुङको अध्यक्षतामा आज आइतबार बुटवलमा भेला सम्पन्न भएको हो । उक्त भेलालाई सम्बोधन गर्दै पार्टीका महासचिव केशब सुर्यबंशीले संविधानमा सबैको अपनत्व महसुस गराउन संशोधनले नपुग्ने बताउनु भयो । ‘संशोधन भनेको एक, दुई वटा शब्दको केरमेट हो । यसले पुग्दैन ।’ उहाँले सबैले अपनत्व बोध गर्ने गरि साझा संविधान बनाउनका लागि संविधानमा राखिएका धेरै शब्दावली र कतिपय वाक्य नै थप्न र हटाउनु पर्ने भएकाले यसका लागि फेरी लेखन गर्नु नै अन्तिम उपाय रहेको धारणा राख्नु भयोे । सरकारको तर्फबाट संविधान जारी भएको आगामी असोज ३ गतेलाई दीपावली सहित मनाउने तयारी भइरहेको बेला जनमुक्ति पार्टीका महासचिव सुर्यबंशीले बहुजातीय मूलुकमा संविधानले बहुलता स्वीकार गर्न नसकेको र अपुरो रहेकाले पूर्नलेखनको माग सहित विरोध कार्यक्रम गर्ने बताउनु भयो । असोज ३ लाई कालो दिनको रुपमा मनाउन पनि उहाँले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
भ्रष्टाचार विरुद्ध अभियान चलाइरहेको राष्ट्रिय जनमुक्ति पाटीले ४२ वटा जिल्लामा भ्रष्टाचार विरुद्ध हस्ताक्षर गर्ने काम सम्पन्न गरेको उहाँले जानकारी दिनु भयो । आगामी फागुन २१,२२ र २३ गते राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको जनमुक्तिले विचार र मुद्दा मिल्ने दलहरुसंग एकताका लागि प्रयास भइरहेको पनि बताउनु भयो । सो अवसरमा राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष होमाया गुरुङ, केन्द्रिय सदस्य छत्र दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ, पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरे, युवा महासंघ बुटवल उपमहानगरका अध्यक्ष कमल बुढाथोकी, नेताहरु हरिओम विक, रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, सरिता श्रीस, लिल कुमार राना, धन बहादुर छन्तेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा राष्ट्रिय महिला मोर्चा केन्द्रिय समितिमा भर्खरै निर्वाचित अध्यक्ष होमाया गुरुङ, उपाध्यक्ष मधु राना, महासचिव धनी आले लगायतलाई सम्मान गरिएको थियो ।