बुटवल, २८ भाद्र । लैंगिक समानताकालागि सबैले आफैबाट सुधारका काम सुरु गर्नुपर्ने शनिबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । महिला मात्रै लैंगिक हिंसामा परेको नभएर पुरुष पनि त्यसको सिकारमा परेका तथ्यहरु आएकाले लैंगिक हिंसालाई दोहोरो रुपमा नै हेरिनुपर्ने उनीहरुले बताए ।
बुटवल जेसीज र बुटवल महिला जेसीजले संयुक्त रुपमा सञ्चालन गरिएको ‘जेसीज सप्ताह’ समापन समारोहमा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायधिस राज्यलक्ष्मी बज्राचार्यले समाजमा महिला मात्रै हिंसाको शिकारमा परेको समाचार आएपनि महिला मात्रै नभएर पुरुष पनि हिंसाको शिकारमा पर्ने गरेको उल्लेख गर्दै लैंगिक हिंसालाई दोहोरो रुपमै हेरिनु पर्ने बताउनु भयो । लैंगिक हिंसा सुधारकालागि कसैको पनि एकल प्रयासबाट सम्भव नभएको बताउँदै त्यसकालागि सबैले आफैबाट सुधारको थालनी गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उच्च अदालत बार एशोसियशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले महिला प्राकृतिक रुपमा नै एक प्रकारको परिवन्धमा परेको उल्लेख गर्दै त्यस्ता परिवन्धनलाई हिंसाको रुपमा लिन नहुने बताउनु भयो । अहिले संविधानमै महिलाकालागि तुलनात्मक रुपमा बढी अधिकार प्रत्यायोजन भएको उल्लेख गर्दै प्राप्त अधिकारको उपयोग गर्नकालागि महिला स्वयम अग्रसर हुनु पर्ने धारणा राख्नुभयो ।
बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले कार्यक्रममाथि प्रकाश पार्दै लैंगिक हिंसा, असमानता, जटिल खालका रोगको बारेमा जनचेतना अभिबृद्धि गर्नकालागि जेसीजले अभियान अंगाडी बढाएको र तीन बिषयलाई केन्द्रित गरेर जेसीज सप्ताह सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा पत्रकार भवानीप्रसाद पाण्डे र गैरसरकारी संस्था महासंघकी केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले लैंगिक हिंसा सम्बन्धि छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बुटवल महिला जेसीजकी अध्यक्ष लक्ष्मी थापा, बुटवल जेसीजका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल महिला जेसीजकी पूर्व अध्यक्ष उर्मिला श्रेष्ठ, गैरसरकारी संस्था महासंघ रुपन्देहीकी अध्यक्ष रिमा बिसी, यानिक राना लगायतले लैंगिक हिंसाका सवालमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव राजिव गौतमले गर्नुभएको थियो ।