बुटवल, २७ भदौ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बर्तमान सरकारले जनताको आशा र अपेक्षा अनुसार विकास निर्माणका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको सरकार विपक्षीहरूको नकारात्मक भ्रम र प्रचारबाजीलाई चिर्दै सहि दिशा र बाटोमा अघि बढेको दाबि गर्नुभयो । उहांले यहि सरकारको नेतृत्व र पहलमा नेपाल विकासशिल देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने दृढता व्यक्त गर्नुभयो ।
प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले केही गरेन भनेर चौतर्फी भ्रम छर्ने र धमिलो पानीमा माछा मार्ने प्रयास भैरहेपनि नेकपा नेतृृत्वको सरकारले जुन गतिमा काम गरेको छ यस्तो काम अरु कुनै दलको नेतृत्वले गर्न नसक्ने दावि गर्नुभयो । ’
मन्त्री ज्ञवालीले ठूलो जनसंख्या, विकास र बजार भएका दूई मुलुक भारत र चिनका बिचमा नेपाल रहनु अवसर भएको बताउँदै नेपाल दुवै छिमेकी मुलुकसंग जोडिएर अघि बढ्न चाहेको बताउनु भयो । सरकारको छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर भएको प्रष्ट पार्दै मन्त्री ज्ञवालीले भारतको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाईन विस्तार त्यसको उदाहरण उल्लेख गर्नुभयो ।
उहाँले नेपाल र भारतवीचको सम्वन्ध सुमधुर भएको भन्दै आगामी दिनमा समेत यो सम्वन्ध अझै नयाँ आयाममा विस्तार हुने बताउनु भयो । भारत र चीन नेपालका बलियो साझेदार मुलुक भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले ती दुई मुलुकको विकासको लयसंग नेपालको लय कसरी मिलाउन सकिन्छ भन्ने विषयमा अव सोच्नु जरूरी छ भन्नुभयो ।
उहाँले नेपालको नीति भनेको नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर छिमेक सम्वन्धलाई बलियो बनाउने आधार तयार गर्ने हो भन्दै अहिले नेपालप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालको बैदेशिक रोजगार प्राथमिकतामा नरहेपनि केही वर्षसम्म नेपालमा प्रशस्त रोजगारीका संभावना नभएसम्म त्यो जारी रहने भएको उल्लेख गर्दै हालै मलेसियासंग भएको समझदारीले अव नेपाली युवाहरू शून्य लगानीमा त्यो देशमा रोजगारीका लागि जान सक्ने बाताबरण नेपाल सरकारले तयार गरेको बताउनु भयो ।
![आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी](https://sansarpost.com/bhitra/2025/01/received_1715179995695701-100x75.jpeg)