बुटवल, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय रुपन्देहीको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले संगठित सदस्यता नविकरण गर्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजकको संयोजकत्वमा नविकरण कार्यदल गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटीका सचिव कार्यदलमा सचिवको रुपमा रहेका छन् भने सदस्यमा सबै जिल्ला कमिटीका सदस्यलाई राखिएको छ ।
उक्त कार्यदलले संगठित सदस्यता नविकरण सम्बन्धी आवश्यक योजना र कार्यविधि विधान र नियमावली अनुसार बनाउने क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ का संयोजक तेजेन्द्र केसीले जानकारी दिनुभयो । बैठकले असोज ३ गते संविधान दिवस मनाउने निर्णय गर्दै यसका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै संविधान दिवसको दिन आ–आफ्नो भेषभुषासहित बुटवलमा उपस्थित हुन बैठकले मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै अहिले डेंगुले महामारीको रुप लिएको भन्दै यसको नियन्त्रणका लागि स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको क्षेत्रीय सचिव केसीले जानकारी दिनुभयो ।
बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले पार्टीले सरकार र जनताबीच पुलको काम गरेर अघि बढ्नुपर्ने र सरकारले अघि सारेका महत्वपूर्ण विकासका योजनालाई जनतामाझ लैजानुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टी संगठनलाई बलियो बनाउँदै जनपक्षिय काममा केन्द्रित हुन कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सचिव निर्मल जिसीले पनि आफ्नो धारणा राख्नुभएको थियो ।