भैरहवा, २० भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालिका अपहरण गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आज (शुक्रबार) बिहान साढे आठ बजेको समयमा रोहिणी गाउँपालिका २ साविक पोखरभिण्डी गाविस ५ बैकुण्ठपुर निवासी बर्ष ३० को असफाक अहमद खानकी ५ बर्षिय छोरीलाई अपहरण गर्ने भारतिय नागरिक मनिस निगमलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत महाराजगन्ज निच्लौल ग्राम मिठौराबजार घर भै विगत एक बर्ष देखि नेपालमा पेण्टिङ्गको काम गर्ने बर्ष २३ को निगमले रोहिणी गाउँपालिका बैकुण्ठपुरमा मासु पसल संचालन गर्ने असफाक अहमद खानकी ५ बर्षिय छोरीलाई घर आंगनमा खेलिरहेको अवस्थामा मुख थुनेर अपहरण गरि लगेको प्रहरीले जनाएको छ ।
बच्ची हराएको हो हल्ला भएपछि घर परिवार, छिमेकी र प्रहरीले खोजतलास गर्ने क्रममा खानको घरदेखि करिव तीन सय मिटर पश्चिम रोहिणी पुल नजिकैको जंगलमा लगेर मुख थुनेर राखेको अबस्थामा आज बिहान १० बजे बच्चीको उद्दार गरी अपहरणकारी पेण्टरको काम गर्ने फूलचन्द्र निगमको छोरा मनिस निगमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेका निगमलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
