बुटवल, ८ भाद्र
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा बित्तिय संस्था जनताको सम्पति भएकोले बैंकिङ अपचलन भए त्यसका सञ्चालक कारवाहीको भागीदार हुने बताउनु भएको छ ।
बैंक तथा बित्तिय संस्थामा गरेको लगानीलाई बिजनेशका रुपमा हेर्न नहुने बताउँदै उहाँले सर्ब साधारणको सम्पत्तिमा अपचलन हुन्छ भने नेपाल राष्ट्र बैंक चुप लागेर बस्न नसक्ने चेतथापनी दिनु भयो ।
बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ बिकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर पश्चात बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकिकृत कारोवारको आईतवार शुभारम्भ गर्दै गभर्नर नेपालले बैंकमा रहेको कुल निक्षपको ८ प्रतिशत मात्रै बैंक तथा बित्तिय संस्था संचालककोे रहेको जानकारी गराउनु भयो ।
उहाँले नेपालका बैंकमा अहिले रहेको ३२ सय ३५ अर्ब रुपैंया मध्ये १ सय ५० अर्व रुपैंया मात्रै बैक तथा वित्तिय ुंस्था संचालककोे रहेको जानकारी गराउँदै सर्वसाधारणको सम्पत्तिको संरक्षण गर्ने दायित्व बैंक तथा बित्तिय संस्थाको भएको बताउनु भयो ।
सर्वसाधारणको सम्पत्ति अपचलन हुन लाग्यो भने त्यसलाई नियन्त्रण गर्ने अधिकार राष्ट्र बैंकमा रहेको उहाँले बताउनु भयो । ‘नेपाल राष्ट्र बैंकले गलत काम भए कारवाही गर्छ, लाईसेन्स दिने पनि राष्ट्र बैंकले हो, खोस्न पनि सक्छ’ घटुवा गर्न र बन्द गर्न पनि सक्छ –उहाँले भन्नुभयो ।
बैंक तथा बित्तिय संस्थाले बिकासका काममा मध्यस्थता गर्ने बताउँदै उहाँले सर्बसाधारणको बिश्वास जितेर काम गर्न आग्रह गर्नुभयो । बैंक तथा बित्तिय संस्थालाई गलत तरिकाले गलत ठाउँमा लगानी नगर्न आग्रह गर्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई लगानी गर्नै पर्नेगरी कृषि, उर्जा, पूर्वाधार बिकास, पर्यटन लगायतका प्राथमिकता निर्धारण गरिएको जानकारी गराउनु भयो ।
उहाँले नेपालका ७५३ स्थानीय तह मध्ये अहिलेसम्म ७३६ स्थानीय तहमा बैंक पुगेको जानकारी गराउनु भयो । त्यस्तै प्रदेश पाँचका १०९ स्थानीय तहमध्ये सबैमा बैंक पुगेको जानकारी गराउँदै यसले सर्वसाधारणको बैंकिङ् पहुँच बढेको उल्लेख गर्नुभयो । गभर्नर नेपालले व्यापारिक क्षेत्रका रुपमा बिकास हुँदै गरेको यस क्षेत्रमा कृषि तथा उत्पादनका क्षेत्रमा लगानी बृद्धि गर्न पनि उहाँले बैंक तथा बित्तिय संस्थालाई आग्रह गर्नुभयो ।
त्यस्तै प्रदेश पाँच योजना आयोगका उपाध्यक्ष प्रा .डा. ईश्वर गौतमले प्रदेश पाँच प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई प्रदेश बिकासको आधार तय गरिएको जानकारी गराउँदै यसकालागि लागि बैंक तथा बित्तिय संस्था र नीजि क्षेत्रसमेत सहयोगी बन्न आग्रह गर्नुभयो ।
बैंकका संस्थापक तथा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले कतिपय संस्थाहरु मर्जर भएरपनि त्यसका सञ्चालक तथा सदस्यहरुले मर्जरको अनुभूति गर्न नसकिरहेको उल्लेख गर्दै तिनाउ र मिसनको मर्जर पछि पनि व्यबहारमै मर्जरको अनुभूति हुने वातावरण तयार गर्न आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र भट्टराईले बैंक तथा बित्तिय संस्थाको मर्जर र पुँजी बृद्धिसंगै बैंक तथा बित्तिय संस्थाको लगानी क्षमता पनि बढेको औंल्याउनु भयो ।
बैंक सञ्चालक समितिका अध्यक्ष टिकाराम घिमिरेले दुई संस्थाको मर्जरले बैंकलाई राष्ट्रिय बैंक बनाउने दिशामा अंगाडी बढाएको बताउँदै नेपाल कम्युनिटी बैंकसंगको मर्जर पश्चात पनि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको पुँजी पु¥याउनका लागि बिकल्पहरु खुल्ला राखेर अंगाडी बढ्ने जानकारी गराउनु भयो । कार्यक्रमको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले गर्नुभएको थियो । त्यसै अवसरमा बुटवल स्थित पाल्पा रोडमा रहेको बैंकको प्रधान कार्यालय रहने भवन समेत उद्घाटन गरिएको थियो ।