बुटवल, ६ भदौ । प्रदेश नम्वर ५का प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले विप्लब नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य तथा सो पार्टीका जिल्ला जनसरकार उपप्रमुख लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ५० वर्षीय बिक्रम यादव, प्रादेशिक जनसरकार सदस्य रुपन्देही गैडहवा गाउँपालिका ६ का ४३ वर्षीय रुदल यादव र सचिवालय सदस्य सियारी गाउँपालिका वडा नं. ४ ओर्लहवाका ६३ वर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) लाई पक्राउ गरेको हो ।
गत साउन ३१ गते राती करिव पौने ३ बजेको समयमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ शान्ति टोलमा रहेको प्रदेश पाँचका नेकपा प्रमुख सचेतक ढकालको घरमा अपरिचित व्यक्तिले ढकालको घर अंगाडी पार्किङ् गरेको लु १ झ ४५६ नं. को गाडीमा क्षेती पुग्ने गरी बम प्रहार गरेका थिए ।
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई खोज तलासकालागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बिक्रम यादव र रुदल यादव उपर गत साउन १५ गते राती रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपहीमा रहेको एनसेल टावरमा आगजनी गरेको समेत अभियोग लागेको छ । राती करिव १२ बजेको समयमा एनसेल टावरको कम्पाउण्डमा रहेको तारजाली काटेर भित्र गई टावर र मेसिन जोडिएको तारमा आगो लगाएर बम पड्काएर क्षेती पु¥याएको अभियोग प्रहरीले उनीहरुलाई लगाएको छ । उनीहरु उपर विष्फोटन पदार्थ तथा आगलागि शिर्षकमा मुद्धा गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिनुभयो ।