बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लागु औषध (ब्राउनसुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच नं. प्रदेश प्रहरी कार्यालय दाङ्को व्यूरो तथा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले टोलीले तिलोत्तमा नगरपालिका वडा नं. २ शान्तिकुञ्जबाट सरावन नगरपालिका ६ नवलपरासीका २८ वर्षीय मुन्ना कहार र सोही नगरपालिका वडा नं. ४ का २९ वर्षीय रेशमराज कहारलाई पक्राउ गरेको हो ।
बिहिबार राती ९ बजेको समयमा लु २७ प ७२ नं. को मोटरसाईकलमा हिडिरहेका उनीहरुलाई शंकासपद रुपमा देखिएकाले रोकेर चेकजाँच गर्ने क्रममा रेशमराजको शरीरमा १६० ग्राम लागु औषध (ब्राउन सुगर) भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार प्रहरी नियन्त्रणमा रहेका दुबैजनामाथि थप अनुसन्धान भईरहेको छ ।