स्वेच्छिक सदस्यता त्याग गर्नेलाई सम्मान
रामकुमार श्रेष्ठ
नवलपरासी, ५ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले स्वेच्छिक सदस्यता त्याग गर्ने सदस्यलाई सम्मान गर्ने भएको छ । संस्था सुदृढिकरणका लागि उक्त निर्णय गरेको महासंघले जनाएको छ । पेशागत संघ संगठनसहित महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सरकारी जागिरमा कार्यरत र जनप्रतिनिधिहरुलाई नयाँ सदस्यता नदिने निर्णय समेत गरेको छ ।
महासंघको सदस्यता लिएका केही सदस्यहरु पत्रकारिता पेशाभन्दा अन्य पेशामा क्रियाशिल रहेकाले संस्था सुदृढिकरण गरी विशुद्ध पत्रकारहरुको संस्था कायम गर्न उक्त निर्णय गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिनुभयो । स्वेच्छिक सदस्यता त्याग गर्नेलाई एक कार्यक्रमको आयोजना गरेर स–सम्मान विदाई गरिने छ ।
महासंघमा केही सदस्यहरु सरकारी जागिरेदेखि वडा सदस्य र पालिका प्रमुखसमेत छन् । महासंघको विधानमा जनप्रतिनिधि निर्वाचित भईसकेपछि उनीहरुको सदस्यता के हुने भन्नेमा केही उल्लेख छैन । विगतमा सरकारी जागिरेलाई पनि सदस्यता दिइएकाले यसवर्षदेखि सरकारी जागिरे र जनप्रतिनिधिहरुलाई नयाँ सदस्यता नदिने निर्णय गरेको सचिव रेश्मीले बताउनुभयो । त्यसैगरी सदस्यताका लागि पेश हुन आउने विदेशी शैक्षिक योग्यताको प्रमाण पत्रलाई पाठ्यक्रम विकास केन्द्र भक्तपुरबाट प्रमाणित गर्नुपर्ने निर्णय महासंघले गरेको छ । महासंघको सदस्य बन्न उच्च शिक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । योग्यता नभएकाहरुले छिमेकी देशमा रहेको शैक्षिक संस्थाको नाम उल्लेख गरी बनाएको नक्कली प्रमाण पत्र ल्याउन सक्ने आशंकागर्दै प्रमाणित गर्नुपर्ने नियम महासंघले बनाएको हो । विगतका वर्षमा विना प्रमाणित विदेशी शैक्षिक प्रमाण पत्र पेश गरेर सदस्यताका लागि सिफारिसहुँदै आएको थियो । महासंघ जिल्ला शाखाले भदौ २० सम्म नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । हाल जिल्ला शाखामा ६३ सदस्य छन् ।