नवलपरासी, २ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोलामा पानीको सतह नघटेका कारण यातायात सञ्चालनमा समस्या आएको छ । बाढीले खोलामा बनाएको डाईभर्सन बगाएको र पानीको सतह नघटेका कारण आइतबार साँझ ५ बजेदेखि पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प रहेको छ ।
यातायात सुचारु नभएका कारण सयौं यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । अरुणखोला प्रहरी चौकीका इन्चार्ज जनक बुढा मगरका अनुसार खोलामा पानीको वहाव नघटेको कारण भत्किएको डाइभर्सन मर्मत गर्न सकिएको छैन ।
पानीको सतह नघटेसम्म डाईभर्सन निर्माणको काम हुन नसक्ने र पनीको सतह नघटेसम्म यातायात सञ्चालनमा आउने सम्भावना कम रहेको उहांले बताउनु भयो ।
यातायात अवरुद्ध भएको करिव २४ घण्टा भन्दा वढि भएको र सुचारु हुने कुनै निश्चित नभएकाले गन्तब्यमा हिडेका यात्रुहरुले बिच बाटोमा निकै सास्ती ब्यहोर्नु परेको छ ।
साउन २९ गते बुधबार बिहान ना ६ ख ४७१ नम्वरको ट्रक पुलमा ठोकिदा पुलको एक स्थानमा क्षती पुगी पुल करिब दुई मिटर तल लच्किएका कारण सो सडकमा यातायात अवरुद्ध भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पुलहरु झण्डै बर्षेनी जस्तो कुनै न कुनैमा क्षती हुने र यातायात अवरुद्ध हुने गरेको छ ।