तिलोत्तमा, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा आन्तरिक गतिविधि तीव्र पारेको छ । यसैक्रममा तिलोत्तमा २ को शाखा कमिटीले सचिवालय निर्माण र सल्लाहकार कमिटी चयन गरेको छ । शाखा कमिटीको बैठकले ९ सदस्यीय सचिवालय निर्माण गरेको हो ।
जसमा लक्ष्मण प्रसाद ज्ञवाली, भुवन आचार्य, चन्द्रकान्त सापकोटा, खिलबहादुर पौडेल, अम्बिका पन्त, यमबहादुर गौतम, भीमलाल क्षेत्री र इश्वरी भण्डारी रहनुभएको छ । त्यसैगरी सल्लाहकार कमिटीमा दधिराम गौतम, खिमराज पाठक, नेत्र ज्ञवाली, काँशीराम काफ्ले, निलकण्ठ भट्टराई, श्यामबहादुर खत्रीलाई राखिएको छ । बैठकले ज्येष्ठ नागरिक मञ्च पनि गठन गरेको छ । जसमा रेश्मीराज पाण्डे र टान प्रसाद ज्ञवाली रहनुभएको छ ।
बैठकलाई संबोधन गर्दै नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले वडाको विकासका लागि जनताको चाहना र आवश्यकतालाई ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो । बैठकलाई मजदूर नेता हुमाकान्त काफ्लेले पनि संबोधन गर्नुभएको थियो ।
यसैबीच तिलोत्तमा ४ को शाखा कमिटीको बैठक पनि सम्पन्न भएको छ । बैठकले वडास्तरीय तीजमिलन कार्यक्रम गर्ने र चाडपर्व लगत्तै कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको शाखा कमिटी अध्यक्ष शंकर जिसीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा जिल्ला सदस्य देवी वाग्लेले पार्टीले सरकार र नागरिकबीच मध्यस्थकर्ताको भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।