पुलमा बनाएको डाइभर्सन पानीले भत्कायो, यात्रुहरु समस्यामा
रामकुमार श्रेष्ठ
नवलपरासी, ३१ श्रावण । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन यातायात अवरुद्ध भएको छ ।
विहिबार साँझ ६ बजेतिरबाट डाइभर्सन प्रयोग गरेर यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपनि डाइभर्सनबाट ठूला तथा भारी लोडका सवारी साधन पास हुन नसक्दा यातायात अवरुद्ध हुन पुगेको अरुणखोला प्रहरीले जनाएको छ ।
एक मिनेटमा पास हुने पुलको बाटो अवरुद्ध भएपछि एउटा गाडीलाई पास हुन २ घण्टासम्म समय लाग्ने गरेको छ । विहिबार साँझ डाइभर्सन बनेपछि एक पटकमा एकतर्फी रुपमा ४०÷५० वटा सवारी साधन पास गराएको भएपनि पुन डाइभर्सन विग्रिएका कारण यातायात अवरुद्ध भएको छ । प्रहरीका अनुसार अरुणखोलाबाट पूर्वपश्चिम दुवैतर्फ ४÷५ किलोमिटर लामो जाम भएको छ ।
अहिले दिनभर कुर्दा पनि यातायात पास हुने पालो आउन नसकेको कारण यात्रुहरु बिच बाटोमा नै अपलपत्र पर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् ।
बुधबार पुल भासिएपछि सोही दिन टिप्पर हिड्ने लिगलाई प्रयोग गरेर सवारी साधन पास भएको भए पनि अहिले उक्त लिगबाट गाडी हिड्न छाडेका छन् । शुक्रबार विहानबाट कावासोतीबाट पश्चिम जाने सवारी साधनलाई कावासोतीमै रोकिएको छ ।
बाटो अवरुद्ध भएको दुवैतर्फ ७÷८ किलोमिटर लामो जंगल भएको र जंगलमा फोन समेत नलाग्ने हुँदा यात्रुहरुले आफू जाममा परेको कुरा आफ्नो घर र आफन्तलाई समेत फोन सम्पर्क गर्न नसकेर निक्कै अप्ठेरोमा परेका छन् ।
सडक डिभिजन कार्यालयले डाइभर्सन निर्माणका लागि अमानतमा ठेकेदारलाई जिम्मा दिएका कारण डाइभर्सन बन्दै भत्कदै गरे नाफा हुने भएका कारण पनि स्थायी डाइभर्सन बनाउनतर्फ चाँसो बढेको छैन ।
कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।
अरुणखोलाका पत्रकार लालकुमार भट्टराईका अनुसार सडकमा केही सवारी साधन घटे जस्तो भए पनि को छिटो जाने भन्ने विषयमा तछाडमछाड गर्दा थप जाम भएर अर्को समस्या थपिने गरेको छ । बिचबिचमा हुने जाम खुलाउन प्रहरी र ट्राफिक प्रहरी खासै परिचालन नभएको यात्रुहरुले गुनासो गरेका छन् । जंगलको बिचमा रोकिएका यात्रुहरुलाई पिउने पानीको समेत समस्या भएको छ ।