काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका एआईजी खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जाँदैहुनुहुन्छ । ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लाग्नुभएका थापा २०८१ चैत ४ मा ३१ औँ प्रहरी प्रमुख नियुक्त हुनुभएको थियो । २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका आईजीपी थापा करिब ६ महिना आईजीपी भएर अवकाशमा जान लाग्नुभएको हो ।
प्रहरी महानिरीक्षकका लागि एकल दाबेदार रहनुभएका खापुङ हालसम्म कुनै विवादमा पर्नुभएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिनुभएको थियो ।
खापुङ सम्भवत आईजीपी इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनुहुनेछ । ३० वर्षे सेवा अवधिका कारण उहां आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुहुनेछ । नयाँ प्रहरी ऐन जारी नभए उहां २ महिना ९ दिनका लागि आईजीपी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बन्नुभएको थियो । २८ चैत २०१२ मा आईजीपी बन्नुभएका जबरा ३१ चैत २०१२ सम्म आईजीपी बन्नुभएको थियो ।