काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा गराउन करोडौंको आर्थिक चलखेल गरेको आरोपमा भैरहवा रुपन्देहीका नापी अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ रुपैयाँ विगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
यादवले दशौं वर्षसम्म निमित्त कार्यालय प्रमुखका रूपमा बसेर सरकारी जग्गा प्लट मिलान गर्ने नाममा त्यस्ता जग्गा व्यक्तिको नाममा पार्ने, करोडौंको आर्थिक चलखेल गर्ने तथा पदीय मर्यादाविपरीतका कार्य गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरेका आयोगको दाबी छ ।
२०५३ साल असार १३ देखि २०८१ साल असार १६ गतेसम्मको अवधिमा उनको परिवारसहितको कुल आय करिब ९ करोड ३ लाख रुपैयाँ रहेको देखिएको छ भने सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च तथा लगानी भएको पाइएको छ । यसका आधारमा झण्डै पाँच करोड उनासी लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति जफत गरी सो बराबरको बिगो असुल गर्न मागदाबी गरेको छ । साथै, यादवले सम्पत्ति विवरण लुकाएर झुट्टा विवरण दिएको अभियोगमा समेत कारबाही गर्नुपर्ने आयोगको दाबी छ ।
यादवले आर्जन गरेको सम्पत्तिको केही अंश श्रीमती गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभम यादवका नाममा समेत दर्ता गरिएको पाइएकाले अख्तियारले उनीहरुको नाममा रहेको सम्पत्तिहरू पनि जफत गर्न माग गरेको छ ।