बाटो, विजुली र पानीको व्यवस्था गर्न सके धार्मिक पर्यटनको गन्तब्य बन्ने
कमल चौधरी
कपिलबस्तु, २८ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –८ मा अद्भुत दैवीय अनुभूति हुने शिव पार्वती गुफा रहेको छ ।
पूर्व पश्चिम महेन्द्रराजमार्गदेखि बोर्डगाँउ, बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर जंगल भित्र रहेको शिव पार्वती गुफामा दर्शनका लागि दिनहुँ भक्तजनहरु जाने गरेका छन् ।
उक्त गुफा भित्र शिव र पार्वतीको जस्तै आकृति रहेकाले गुफाको नाम शिव पार्वती राखिएको र अहिले सो गुफा सबैको आस्थाको केन्द्र बन्दै गएको छ । सो गुफामा धेरै बर्ष पहिले एक बाबा ध्यान गरेर बसेको स्थानीय जानकारहरु बताउछन् ।
प्राचीन भागिरथी नदिको प्रतिक मानिएको बाणगङ्गा नदीको ऐतिहासिक र धार्मिक महत्व संगै एतिहासिक शिव पार्वती गुफाका कारण बाणगङ्गा एउटा छुट्टै आध्यात्मिक र धार्मिक आस्थाको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

भगवान रामचन्द्र बनवासमा रहँदा पानीको अभाव भएपछि जमिनमा बाण प्रहार गर्दा पानीको मुल फुटेको र सोही मुलले गँगाको आकार लिएकाले सोही आधारमा बाणगङ्गा नदीको नामाकरण गरिएको किम्वदन्ती छ ।
सोही ठाउँमा शाक्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट, मधुवनधाम, कपिलधाम, रामदातुवीन, लक्ष्मण घाट संगै शिव पार्वती गुफाको पनि ऐतिहासिक सम्बन्ध हुन सक्ने जनविश्वास रहिआएको छ ।

साथै कपिलबस्तु जिल्ला विभिन्न कालखण्डमा ऋषिमुनीहरुको ध्यान स्थल र शक्तिपिठहरु रहेको विभिन्न लेखहरुमा उल्लेख गरिएकाले पनि उक्त शिव पार्वती गुफा पनि प्राचिन ऋषिमुनीहरुको ध्यान स्थल रहेको हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ ।
किम्वदन्ती अनुसार एक जना मानिसले शिव पार्वती गुफामा रहेको शिला घर लगेपछि उनी विरामी भएको र पुनः त्यो शिलालाई सोही ठाउँमा राखेर पुजाआजा गरेपछि ठिक भएको थियो । त्यस पछि मानिसहरुले मनोकांक्षा पुराहुने विश्वासका साथ भाकल गर्ने र पुजाआजा गर्न थालेका स्थानिय कृष्ण घिमिरेले जनकारी गराउनुभयो ।

शिव पार्वती गुफामा दिनहुं जसो भक्तजन र दर्शनार्थीहरु जान थालेपछि मंगलबार बाणगंगा नगरपालिका –८ का वडा अध्यक्ष गुणनिधी भुषाल सहितको टोलीले सो क्षेत्रको अवलोकन गरेको छ ।
टोलविकास समितिका अध्यक्ष संक्रान्ती चौधरी, समाजसेवी राविराज आचार्य, समाजसेवी धुव्र कँडेल, टोल विकास समितिका सचिव राज कडेल, पत्रकार कमल चौधरी लगायतको टोलीले शिव पार्वती गुफाको आवलोकन गरेको हो ।
अवलोकनका क्रममा बाणगंगा–८ वडा अध्यक्ष भुषालले गुफाको यस ठाउँमा अध्यात्मिक र दैबी शंक्ति रहेकाले गुफाको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बाणगंगा–८ त्रिशक्ति समुदायिक वन भित्र पर्ने शिव पार्वती गुफाको संरक्षण र प्रवद्र्धन गर्दै यहाँ आउने भक्तजनहरुको लागि आवास निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
समाजसेवी राविराज आचार्यले बाणगङ्गा नगरको पर्यटकीय विकासको लागि शिव पार्वती गुफाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गष्र्नुभयो ।

शिव पार्वती गुफाका पुजारी कृष्ण घिमिरेले राम्रो बाटो नहुँदा कतिपय दर्शकहरुलाई गुफा सम्म पुग्न समस्या परेकाले छिट्टै राम्रो बाटो, विजुली र खाने पानीको व्यवस्था गर्न सके यो गुफा धार्मिक पर्यटनको राम्रो गन्तब्य बन्ने विश्वास ब्यक्त गर्नुभयो ।