बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्वर चार स्थित कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति चयन भएको छ । चार सदस्यीय पदका लागि शनिबार भएको निर्वाचनमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।
दुई दशकसम्म कान्ति माविको व्यवस्थापन समितिमा नेतृत्व गर्दै आएको नेकपा एमाले निकटका अभिभावक भने पराजित भएकाछन् । खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी हुनुभएको छ । शर्माले ५१४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनका पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी हुनुभएको छ । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी हुनुभएको छ भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगिता पोखरेल ५०१ मत प्राप्त गरी विजयी बन्नुभएको छ ।
यस्तै खुल्ला तर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गर्नुभएको छ । महिला तर्फ राधिका पन्थीले ३८३ र गिता अर्याल पन्तले २४६ मत प्राप्त गर्नुभएको छ । ३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।
नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थापन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि कांग्रेस र एमालेको दलीय स्वार्थका कारण १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन भएको हो ।
नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलोपटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन भएको हो । मतदाताहरुले प्रतिबद्धतासहित संसदीय चुनावकै शैलीमा प्रचार गरेका थिए ।