बौद्ध विश्वविद्यालयमा विद्यार्थी परिषद पुनर्गठन
भैरहवा, २८ साउन । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस, लुम्बिनीको विद्यार्थी परिषद पुनर्गठन भएको छ ।
आईतबार केन्द्रिय क्याम्पस लुम्बिनीको सभाहलमा सम्पन्न विद्यार्थीको भेलाले स्नाकोत्तर तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी कमल रायमाझीको अध्यक्षतामा परिषद पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा जयकिशन अधिकारी, सचिवमा विपि गौतम, सहसचिवमा नरेश के.सी र कोषाध्यक्षमा मधु पाण्डे चयन हुनुभएको छ । यसैगरी परिषदको सदस्यहरुमा जनार्दन लोध, सनिउल्लाह धोबी, मोहन राना र सरस्वती बस्याल चयन हुनुभएको छ ।
परिषदको विधानत ः ९ सदस्य कार्यसमिति रहने व्यवस्था बमोजिम विद्यार्थीको भेलाले उक्त समिति सर्वसम्मत रुपमा चयन गरेको भेला आयोजक समितिका संयोजक सिद्धिचरण भट्टराईले बताउनुभयो । भेलाले परिषदको संरक्षकमा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने र सल्लाहकारमा सिद्धिचरण भट्टराईलाई चयन गरेको छ । भेलाको अध्यक्षता गर्नुभएका भट्टराईले विद्यार्थी हकहित र विश्वविद्यालयको सर्वाँगिण विकासकोलागि त्रिभूवन विश्वविद्यालयमा स्ववियु परिषदले खेल्ने भूमिका जस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यार्थी परिषदले भूमिका खेल्ने बताउनुभयो ।
क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले लुम्बिनी बौद्ध विश्वविद्यालयको चौतर्फी विकासकोलागि विद्यार्थीको तहबाट संस्थागत रुपमा विद्यार्थी परिषदले महत्वपुर्ण कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । ०७३ सालमा पोमनारायण पौडेलको अध्यक्षतामा गठित परिषद त्यसपछि पुनर्गठित हुन सकेको थिएन ।
