रामकुमार श्रेष्ठ
नवलपरासी, २७ साउन । भारतमा तीर्थ यात्राका लागि गएका नवलपरासीको कावासोती नगरपालिका ३ निवासी ७० बर्षीय धनिराम महतो १० दिनदेखि वेपत्ता भएका छन् ।
भारतको विहार घर भई हाल पोखरा बस्दै आएका मन्नुलाल शाहले नेपाली जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति १२ हजारको टिकट कटाएर भारतका विभिन्न तीर्थस्थलहरु घुमाउन लगेका मध्ये महतो वेपत्ता भएका हुन् ।
भारतको उत्तरप्रदेशको झारखण्डको पटना देवघर बस स्टेशनबाट धनिराम हराएको महतोको पारिवारिक स्रोतले जनाएको छ । महतोको खोजीका लागि उनका परिवार र आफन्तले प्रहरी, पत्रकार, मानवअधिकारसँग आग्रह गरेका छन् ।
महतोसँगै तीर्थयात्रा गएका गाउँका अन्य आफन्तका अनुसार जिम्मा लिएर गएका मन्नुलाल शाहले मन्दिरमा जल चढाउने क्रममा हराएका महतोको खोजी नगरी अन्य तीर्थयात्रुहरुलाई अन्यत्र तीर्थ स्थल घुमाउन लगेका थिए ।
महतोको खोजीका लागि महतोका छोरा र अन्य आफन्तहरु महतो हराएको क्षेत्रमा खोजीको लागि गएको भए पनि अझै फेला पर्न नसकेको जनाएका छन् ।