Homeअर्थसिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

भदौ भित्र पाँच हजार विरुवा लगाइने



भैरहवा, २७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको भदौ भित्रै नगरका विभिन्न वडामा पाँच हजार विरुवा रोप्ने भएको छ । नगरमा फराकिला गरिएका सडकका दायाँबायाँ, ६ लेन सडक र दरखसवामा बन्न लागेको पार्कमा विभिन्न प्रजातिका विरुवा लगाइने नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहांले भदौ भित्रै सबै विरुवा लगाउने गरी तयारी भईरहेको बताउनु भयो । पर्याप्त वर्षा नभएकाले केही ढिलाई भएको छ भन्दै उहांले तरपनि पानीको उचित व्यवस्थापन गरेर वृक्षारोपण गरिरहेका छौं भन्नुभयो ।
नगरपालिकाले सोमबारमात्र नगर क्षेत्रमा ढेडसय बढी वृक्षारोपण गरेको छ । वडा नं. ४ र ६ मा वृक्षारोपण गरिएको हो । पहिलोचरणमा गल्लामण्डीको हनुमान कुटी मन्दिरदेखि गौतमबुद्ध विमानस्थल अगाडिसम्म वृक्षारोपण गरिने नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिनुभयो । विमानस्थल जाने सडकको दायाँवायाँ गरी नगरपालिकाले ३ सय विरुवा लगाउने उहांले बताउनु भयो । बृक्षारोपण पछि यहाँबाट ओहोरदोहोर गर्ने पर्यटक र नगरबासीलाई थप आनन्दित गराउने छ उपप्रमुख काफ्लेले भन्नुभयो ।


सो सडकमा सोमबार स्वामी, स्टोनिया र गुलमहरका जातका एक मिटर अग्ला विरुवा लगाइएको प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले जानकारी दिनुभयो ।
वडा नं. ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याउने जनाउँदै विरुवा जोगाउन सबै एकजुट हुन आग्रह गर्नुभयो ।


नगरपालिकाले यस वर्ष रंगशाला रोड, ६ लेन सडकको डिभाइडर, मैत्रीपथ, दरखसवा, काटागाउँ, पक्लिहवा रोड, वडा नं. ३ मा बनिरहेको पार्क, सार्वजनिक जमिनमा वृक्षारोपण गर्नलागेको र्दै वडा नं. ३ का अध्यक्ष थानेश्वर पौडेलले बताउनु भयो । नगरभित्र पर्ने ६ लेनको अधिकांश सडकमा वृक्षारोपण भइसकेको छ । यहाँ नगरपालिकासहित विभिन्न संघसंस्थाले वृक्षारोपण गरेर संरक्षण गरिरहेका छन् । यस्तै, भित्री सडकमा समेत वृक्षारोपण गरिएको छ । सडक बनाउँदा वृक्षारोपणका लागि ठाउँ बनाइएकाले विरुवा हुर्किएपछि सडक झनै सौन्दर्य देखिने अपेक्षा गरिएको छ ।