सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फूटवल प्रतियोगिता अन्तरगत आज बिभागिय टोली एपिएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच खेल हुदैछ ।
मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलबार फर्साटिकर क्लबले जीत हासिल गरेको छ । फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको २९ औं र दोस्रो हापफको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकरका गणेश हमालले २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए । फर्साटिकर क्लबका गणेश हमाल म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।
सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगद ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समूहले समान ८० हजार नगद प्राप्त गर्ने छन ।
प्रतियोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदियमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।