बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू युवालाई जोड्ने कार्यक्रम लिएर गाउँ गाउँमा जान आग्रह गर्नुभएको छ ।
पार्टीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको एजेन्डा छाड्यो भन्ने हल्ला निराधार भएको भन्दै उहांले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मन्त्र भएको र यसलाई आत्मसात गरेर अगाडि बढेको उल्लेखगर्नुभयो ।
नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागद्वारा आइतबार बुटवलमा आयोजित ‘युवाहरूका लागि तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो–‘पार्टीको अवस्था कमजोर छैन । युवालाई जोड्ने कार्यक्रम लिएर गाउँ गाउँ जानुस् ।’
जनताको तागत लिएर कांग्रेस चुनावमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको भन्दै उहांले कांग्रेस भित्रको आन्तरिक मतभेद त्यागेर एकतावद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने भन्दै नेता कोइरालाले अब तिक्तता त्यागेर कांग्रेसलाई थप बलियो बनाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
मुलुक बनाउन युवाहरूको सोच परिवर्तन र मुलुकमा सुशासन स्थापित गर्न जरुरी रहेको भन्दै नेता कोइरालाले भन्नुभयोे–‘हामी नेपाली हौँ, नेपाल बनाउँछौँ भन्ने सोच युवामा हुनुप¥यो, यहाँबाट गएका युवाले कतार, दुबई, मलेसिया बनाए । हामी हाम्रै देश बनाउन किन सक्दैनौँ ।”
अर्का नेता एवम पूर्व गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै कांग्रेसको विकल्प कांग्रेसनै भएको बताउनुभयो ।
कार्यक्रममा सहमहामन्त्री जीवन परियार, डा.मिनेन्द्र रिजाल, नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका संयोजक मिन विश्वकर्मा, नैनसिंह महर, लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, भुवन श्रेष्ठ, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय, सहजकर्ताद्वय डा.जगत नेपाल, हरिबहादर थापालगायतले समसामयिक राजनीतिका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागका लुम्बिनी प्रदेश संयोजक हरिकला अधिकारी पाण्डेको सभापतित्वमा भएको थियो ।